काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले पछिल्लो दुई वर्षमा सुत्केरी र गर्भवतीका लागि चाहिने आइरन समेत किन्न नसकिएको बताउनुभएको छ ।
सोमवार वसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले खरिद प्रक्रियामा देखिएको समस्याका कारण पछिल्ला दुई वर्षदेखि सुत्केरी तथा गर्भवती महिलालाई आवश्यक पर्ने आइरनसमेत सरकारले किन्न नसकेको बताउनुभएको हो ।
खरिद प्रणालीमा हुने टेण्डर प्रक्रियामा भाग लिन नपाएका कम्पनीलेहरुले उजुरी दिने लगायतका कारण समस्या आएको मन्त्री गौतमको भनाइ छ । उहाँले प्रदेश सरकारहरुले आ–आफूले औषधि खरिद गर्दा पनि समस्या भएको बताउनु भयो ।
खरिदका क्रममा प्रदेश र संघिय सरकारको मूल्य फरक फरक पर्ने हुदाँ प्रश्न उठ्ने गरेको उहाँको भनाई छ । उहाँकाअनुसार टेण्डर प्रक्रियामा प्रदेशले ६० रुपैयाँमा किनेको औषधि केन्द्रमा टेण्डर गर्दा ८२ रुपैयाँ पनि पर्न जान्छ । यस्तो जटिल समस्याको अन्त्य गर्न सरकारले स्वदेशी औषधि उत्पादकसँग प्रत्यक्ष संवाद गरेर आवश्यक औषधि खरिद गर्ने नयाँ मोडालिटीमा जान खोजेको उहाँले जानकारी दिनुभयो ।
उहाँले आवश्यक पर्ने औषधी र तीनीहरुको डाटा जम्मा गरेर देशभित्र औषधी उत्पादक ती औषधिको मूल्य र गुणस्तर माग गरि खरिद गर्ने तयारी गरेको जानकारी दिनुभयो । मन्त्री गौतमकाअनुसार स्वास्थ बीमाबाट वितरण हुने औषधिको कुल डाटा निकालेर कुन प्रकारका औषधि कति परिमाणमा चाहिन्छ भन्ने यकिन गरिनेछ ।
त्यसपछि औषधि उत्पादक संघ (एपोन) लगायतसँग समन्वय गरेर प्रतिष्पर्धात्मक मूल्यमा औषधि खरिद गरिने योजना रहेको उहाँले बताउनु भयो । सरकारले खरिदको ग्यारेन्टी लिएमा औषधि उत्पादकहरूले एमआरपीको आधा मूल्यमा औषधि दिनसक्ने बताएको उहाँको दाबी छ ।
विज्ञापन, मार्केटिङ र वितरण खर्च नलाग्ने भएकाले औषधि सस्तो पर्ने जाने व्यवसायीहरुले आफूलाई बताएको उहाँले जानकारी दिनुभयो । सरकारले आवश्यक औषधिको संख्या र प्रकार निर्धारण गरी प्रतिष्पर्धात्मक दरमा कम्पनी सूचिकृत गर्ने र तोकिएको मूल्यमा देशभरबाट खरिद गर्न सकिने प्रणाली विकास गर्ने तयारी गरेको उहाँको भनाई छ ।
मन्त्री गौतमले स्वास्थ्य बीमा सुधार गर्न खोजिएको पनि जानकारी दिनुभयो । उहाँकाअनुसार बीमामा कहिले औषधि नपाउने, कहिले लामो लाइन बस्नुपर्ने समस्या छन् । विमा अनावश्यक रूपमा महँगो बन्दै गएकोले त्यसको लागत, वितरण प्रणाली र सेवामा सुधार आवश्यक रहेको उहाँको भनाई छ ।






