प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ


८ पुष २०८२, मंगलवार १५:१२ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेन–जीहरुले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताउनुभएको छ । 


मंगलवार नेपाली काँग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेको सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँगको छलफलमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । जेन–जी अगुवा सुदन गुरुङले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्वाचन हुन नदिने भन्नुभएको उल्लेख गर्नुहुँदै यसले सरकार निर्वाचन गराउन लागि परेको भन्नेमा आशंका उब्जाएको बताउनु भयो ।

निषेधको राजनीति गरेर र निषेधको भावनाबाट निर्वाचन हुन नसक्ने उहाँको भनाइ छ । सरकार निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगबाट सम्पन्न गर्नतर्फ नलागेको आरोप लगाउनु भयो । पुराना वा नयाँ पार्टीको नाममा कुनैपनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले कोही पनि मतदाताको मताधिकार नखोसियोस् भन्नेमा काँग्रेस दृढ रहेको बताउनु भयो ।

उपसभापति गुरुङले नेपाली काँग्रेस निर्वाचनबाट नभाग्ने बताउनु भयो । उहाँले सरकारले निर्वाचनको वातावरण निर्माण गर्न अझै नसकेको जिकिर गर्नुभयो । उहाँले निर्वाचनका लागि शान्ति सुरक्षा पहिलो शर्त रहेको उल्लेख गर्नुहुँदै सरकारले भयमुक्त वातावरण बनाउन नसकेको बताउनु भयो ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here