झापा । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि। ले आफ्नो १३ औँ बार्षिक साधारणसभा अन्तरगत एकाइ नं. ६ को एकाइगत साधारणसभा सम्पन्न गरेको छ ।
साकोसले आज आइतबार बिर्तामोड, राजगढ, शनिश्चरे, खुदुनाबारी र दानाबारी सेवाकेन्द्रलाई एकाइ नं. ६ अन्तरगत राखि एकाइगत साधारणसभा सम्पन्न गरेको हो ।
एकाइगत सभाको अध्यक्षता संस्थाका उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमले गर्नु भएको थियो । संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, शेयर सदस्य र कर्मचारीहरुको भव्य उपस्थितिमा सम्पन्न सभामा एकाइ नं. ६ को सहजकर्ता कुसुम सुवेदीले स्वागत गर्नुभएको थियो ।
सभामा संस्थाका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन नं. ०२–२०८२–८३ अनुसार साधारण सभालाई फजुल खर्चमुक्त र छरितो बनाइएको जानकारी दिनुभयो।

प्राधिकरणले बचतकर्ताको हितका लागि साधारण सभामा उद्घाटन, अतिथि सत्कार, यातायात खर्च, सहभागी भत्ता, अतिथि उपहार र भोजभतेर जस्ता क्रियाकलापमा फजुल खर्च नगर्न दिएको निर्देशनलाई संस्थाले कडाइका साथ पालना गरेको उहाँले बताउनुभयो।
उपाध्यक्ष गौतमले भन्नुभयो, “हामी राज्यका नियमनकारी निकायहरूबाट हुने अनुगमन र सुपरीवेक्षणलाई सदैव स्वागत गर्दछौं। प्राधिकरणको निर्देशन बमोजिम गैरसदस्य व्यक्तिहरूलाई आमन्त्रण नगरी सिधै साधारण सभाको छलफल एजेन्डामा प्रवेश गर्ने र संस्थामा मितव्ययिता कायम गर्ने नीति हामीले अवलम्बन गरेका छौं।
काम गर्ने सिलसिलामा कतै कुनै कमजोरी देखिएमा त्यसलाई सच्याएर र परिमार्जन गरेर अझ प्रभावकारी ढंगले अघि बढ्न संस्था सधैं तयार छ।” सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समिति संयोजक अर्जुन लामाले प्रस्तुत गर्नुभएको थियो भने ऋण उपसमितिको प्रतिवेदन संयोजक तुलसीराम गौतमले प्रस्तुत गर्नुभएको थियो।
संस्थाले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार हाल संस्थामा ३९ हजार १०५ जना शेयर सदस्य आबद्ध छन्, जसमा २२ हजार ९०७ महिला र १६ हजार १९८ पुरुष रहेका छन्।
संस्थाको शेयर पूँजी १८ करोड ५१ हजार ७०० रुपैयाँ पुगेको छ। त्यसैगरी, संस्थाले १ अर्ब ७२ करोड ४१ लाख ९८ हजार १९५ रुपैयाँ ६४ पैसा निक्षेप संकलन गरी १ अर्ब ९५ करोड १२ लाख २३ हजार ५८५ रुपैयाँ ६८ पैसा ऋण लगानी गरेको छ। समीक्षा अवधिमा संस्थाले ४४ करोड ५५ लाख ८१ हजार ५०५ रुपैयाँ ८० पैसा आम्दानी गरी ४४ करोड ४२ लाख ३२ हजार ६९ रुपैयाँ ९५ पैसा खर्च गर्दै १३ लाख ४९ हजार ७३५ रुपैयाँ ८५ पैसा सञ्चालन नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ।
संस्थाको कुल कारोबार वासलात २ अर्ब ३७ करोड १४ लाख ३८ हजार ५१ रुपैयाँ ५६ पैसा पुगेको छ। संस्थाका व्यवस्थापक सरोज दाहालका अनुसार हालसम्म सुरुङ्गा, चुलाचुली, गेउरिया, उर्लाबारी र बुधबारे र बिर्तामोड गरी छ वटा एकाइका सभाहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। कार्यतालिका अनुसार अब पुस ७ गते चन्द्रगढी एकाइको सभा हुनेछ।
यी सम्पूर्ण एकाइगत सभाहरूबाट प्राप्त सुझाव र प्रतिनिधिहरुको म्यान्डेटलाई समेटेर आगामी पुस १० गते बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणीकरणसभा गरी १३ औँ वार्षिक साधारणसभाको समापन गरिने व्यवस्थापक दाहालले जानकारी दिनुभयो।






