काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आफू कुनैपनि खालको दबाब लिने पक्षमा नरहेको बताउनुभएको छ ।
आईतवार सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा उहाँले सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै सो प्रतिक्रिया दिनुभएको हो । मन्त्री सिन्हाले आफू मातहतको संस्थाहरुको नेतृत्व चयन प्रक्रिया सोही संस्थाको हितमा केन्द्रित हुनेगरी गर्ने समेत बताउनु भयो ।
कसैको दबाब र प्रभावमा परेर आफूले संस्थाहरुको नेतृत्व नियुक्ति नगर्ने उहाँको भनाई थियो । मन्त्री सिन्हाले सञ्चार माध्यामहरुले दिने सूचनाहरु आफ्नो कार्य सम्पादनमा प्राथमिकतामा पर्ने समेत स्पष्ट पार्नुभयो ।
त्यस अवसरमा मन्त्री सिन्हाले हिमाली क्षेत्रमा रहेका फोहोरहरु व्यवस्थापन गर्ने सम्बन्धि पहिलो निर्णय पनि गर्नुभयो । अदालतले समेत सो विषयमा आदेश दिइसकेकाले त्यसलाई कार्यान्वयनमा लैजाने कार्यनीति स्वीकृत गर्ने निर्णय आफूले गरेको उहाँले बताउनु भयो ।






