काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी नेपाल आउने विदेशी माथि अब कडा रुपमा निगरानी गर्नुपर्ने बताउनुभएको छ ।
मुलुकभित्र अनेकौं स्वार्थमा विदेशीहरु आउने र चलखेल गर्नसक्ने भएकाले अब हरेक विदेशीमाथि निगरानी गर्न जरुरी रहेको उहाँले बताउनुभएको हो । आज अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको सम्बन्धमा सरोकारवाला निकाय एवं विज्ञहरुसँगको छलफलमा तिवारीले त्यस्ता नागरिकहरुमाथि निगरानी नगरिए राष्ट्र कमजोर हुने खतरा रहेको बताउनु भयो ।
उहाँकाअनुसार विदेशीहरु नेपालमा कुन स्वार्थले आउछ त्यसका समग्र पक्षका बारेमा हेर्ने एउटा विज्ञ समूह बनाउनुपर्छ । नेपालीहरुलाई सबैले खुइल्याउने तर विदेशीहरु सिंहदरबारमा आएर डुल्दा समेत निगरानी नभएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
अध्यागमन रिफर्ममा नतिजा दिनेगरी काम अघि बढाइएको बताउँदै उहाँले हरेक दिनजसो निकायहरुसँग समन्वय गरेर अघि बढिएको बताउनु भयो । तिवारीकाअनुसार अध्यागम रिफर्मको काम विभागले अन्दोलन नै जसरी गरेको छ । सिस्टमको इडिगेसन गर्न राष्ट्रिय परिपत्रसँग सिस्टममा जोडिँदैछ ।
यसबारे मन्त्रिपरिषद्ले समेत निर्णय गरेकाले छिट्टै यो काम पूरा हुने उहाँले बताउनु भयो । तिवारीकाअनुसार अरु ५–७ वटा एजेन्सीसँग अध्यागनको सिस्टममा जोड्न काम भइरहेको छ । पर्याप्त जनशक्ति नहुँदा अन्य निकायमा रहेका अलि काम कम भएका कर्मचारी राखेर एउटा ल्याव बनाएर आइटीमा सुधारको काम हरेक दिन भइरहेको छ । हरेक दिन निकायहरुलाई जोडेर केही नतिजाहरु दिन सकिन्छ की भनेर काम भइरहेको र छिट्टै परिणाम देखिने उहाँको भनाइ रहेको छ ।
नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदास बैरागीले २०४९ सालमा ऐन आएको र पछि केही नेपाल ऐन संशोधनमार्फत गरिएपनि अब नयाँ कानूनको आवश्यकता रहेको बताउनु भयो । उहाँकाअनुसार विद्यमान कानूनमा राष्ट्रिय सुरक्षाका धेरै विषयहरु त्यहाँ परेको छैन् । प्रविधिको प्रयोग गर्ने कुराहरु पनि परेको छैन । भिषाका प्रकारहरुको सन्दर्भमा पनि व्यवहारिक व्यवस्था अहिलेको कानूनमा नभएकाले यी सबै समेटेर अब नयाँ कानून बनाइनुपर्ने उहाँको भनाइ छ ।
वैरागीले विभिन्न किसिमको कार्यविधि बनाएर काम गरिदाँ काम गर्न केही सहजीकरण बनाउन सक्छ तर व्यवहारीक हुँदैन । उहाँले देशभित्र बेरोजगारीको समस्यालाई अध्यागमनको हिसाबले समाधान गर्न खोजिनु गलत भएको बताउनु भयो । रोजगारीको समस्यालाई अध्यगमनबाट कन्ट्रोल गर्न नहुने उहाँको भनाइ रहेको छ ।
श्रमसम्बन्धि कानून, स्वदेश भित्र रोजगारी सिर्जनाका विषयहरुमा छलफलै नहुने गरेको बताउँदै उहाँले यसबारे पनि समितिदेखि सरकारले समेत सोच्न जरुरी रहेको बताउनु भयो । नेपालमा रोजगारी सिर्जना नगर्ने र मान्छेलाई बाहिर समेत जान अबरोध सिर्जना गर्दा मुलुकभित्र ठूलो समस्या खडा हुने उहाँको भनाइ रहेको छ ।
समितिमा भएको छलफलमा संविधान सभाका पूर्वसदस्य खिमलाल देवकोटाले राज्य ठिक ढंगले चलाउने सन्दर्भमा नगरिनहुने कामहरुलाई कसरी कानूनी वैधता दिनेबारे सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले त्यस्ता कामहरु अध्यागमनको क्षेत्रमा पनि गर्न सकिने बताउनु भयो ।
विद्यमान कानून र विधेयकका सन्दर्भमा रहेका फरक र अझ के भइदिए राम्रो हुन्छ, के व्यवस्था भइदिए अध्यागमन सञ्चालन गर्न सहज हुन्छ भन्नेबारे गहन रुपमा छलफल हुनुपर्ने उहाँको भनाइ छ ।






