काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पक्राउ गरिएका दुर्गा प्रसाईंलाई तत्काल छोडन सरकारसँग माग गर्नुभएको छ ।
बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा बोल्दै उहाँले प्रसाईंलाई बोलेबापत पक्राउ गरिएको जिकीर गर्दै तत्काल छोड्न दबाब दिनुभएको हो ।
मावन अधिकार आयोगले समेत प्रसाईंको मानव अधिकार हनन गर्न नपाउने कुरा सरकारलाई भनिसकेकाले पनि सरकारले उसलाई पक्राउ गरेर राख्न नपाउने स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले प्रसाईंलाई बोल्न नदिन सरकारले उत्तेजित भएर नियन्त्रणमा लिने काम गरेको उल्लेख गर्दै सो कुरा स्वीकार्य नहुने समेत बताउनु भयो । बोलेबापत वा एउटा भिडियो सार्वजनिक गरेबापत सरकारले उत्तेजित भएर प्रसाईंलाई पक्राउ गर्न नमिल्ने ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले सरकारले बोल्दा पनि अपराधीलाई जस्तो व्यवहार गर्ने गरको आरोप समेत लगाउनु भयो । उहाँले सरकारले मुसाले बिरालो खेदे जसरी एमालेलाई पेल्ने प्रयास गरिरहेको बताउनु भयो ।






