काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पछिल्ला २० वर्षमा नेपालमा धेरै कुरा बदलिएपनि राजनीतिक दलको नेतृत्व भने बदलिन नसकेको बताउनुभएको छ ।
काठमाडौंमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले संविधान, राज्य व्यवस्था, बसाईँसराई, आर्थिक गतिविधि, बजारको विस्तार लगायतका धेरै गतिविधिले समाज नयाँ हिसावले पुनःगठित भएको बताउनु भयो । प्रविधि, यसको विकास र यसले समाजमा पारेको प्रभाव, मनोविज्ञानले धेरै कुरा बदलिएपनि पुराना पार्टीहरुको नेतृत्व भने बदलिन नसकेको बताउनु भयो ।
उहाँले संसद विघटन गर्दा पनि केपी ओली एमाले अध्यक्ष भइरहने, पार्टी सकिएर जाँदा पनि पुष्पकमल दाहाल माओवादी केन्द्रको अध्यक्ष भईरहने प्रवृत्ति हट्न नसकेको बताउनु भयो । उहाँले सुशासनको कुरा गर्ने तर भ्रष्टाचार मुद्दा लागेपछि पनि एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी अध्यक्ष छाड्न नचाहेको बताउनु भयो ।
उहाँले राजनितिक पार्टी र त्यसको नेतृत्व सुधार नभएसम्म राज्य संयन्त्रन सुध्रिन नसक्ने बताउनु भयो ।





