निर्वाचनका लागि ७९ प्रकारका सामग्री आवश्यकः १४ सामग्री खुला प्रतिष्पर्धाबाट किन्ने तयारी


१९ कार्तिक २०८२, मंगलवार १०:४३ मा प्रकाशित

काठमाडौं । गत २३ र २४ भदौको जेन–जी विद्रोहपछि गठित अन्तरिम सरकारले अगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । निर्वाचनको वातावरणका लागि संवद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले राजनीतिक दल र जेन–जी प्रतिनिधिसँग समेत चरण चरणमा छलफल गरिरहेको छ ।

घोषित मितिमा निर्वाचन गर्दा जेन–जी पुस्ताका लाखौँ मतदातालाई मतदान गर्ने अधिकारको सुनिश्चितता गर्न सरकारले अध्यादेश ल्याएको छ । सोही आधारमा निर्वाचन आयोगले निर्वाचनको मिति तोकिएपछि बन्द भएको मतदाता नामावली संकलन गर्ने कार्य जारी राखेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाअनुसार हाल मतदाता नामावली संकलनदेखि आवश्यक सामग्री खरिद र आचारसंहिता निर्माणसम्मका सबै तयारी अन्तिम चरणमा पुगेका छन् ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सरकारले निर्वाचनको मिति तोकेपछि अध्यादेशमार्फत कार्तिक मसान्तसम्मका लागि मतदाता नामावली अद्यावधिक गर्न समय थपिएको बताउनु भयो । अहिले पनि देशभर मतदाता नामावली संकलनको कार्य भइरहेको बताउनु भयो । 


निर्वाचन आयोगलाई प्रतिनिधि सभा सदस्य चुनावको लागि चाहिन्छ ७९ प्रकारका सामग्री 


निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कुल ७९ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्ने सूचि बनाएको छ । त्यसमध्ये नेपालमा उपलब्ध हुने र मुलुक बाहिरबाट आयात गर्नुपर्ने गरी दुई प्रकारका सामग्रीको जोहो गर्न आयोग लागेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनु भयो ।

निर्वाचनमा मतपेटिका, औँलामा चिह्न लगाउने नउड्ने मसी भएको मार्कर पेन, पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्यम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची, निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका, कार्ड, कपडाको थैलो, मतदान कक्षको छेकवारा, फारमलगायत सामग्री आवश्यक पर्ने उहाँको भनाइ छ ।

उहाँले गत २०७९ सालको निर्वाचनमा कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको कारण माक्स, स्यानिटाइजर लगायत गरी ९४ सामग्रीको प्रयोग गरेकोमा अहिले केही कम वस्तुको प्रयोग हुने बताउनु भयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्रीहरु स्थानीयस्तरमै किन्न सकिने सामग्रिहरुको प्रयोग गर्ने बताउनु भयो । निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने ७९ मध्ये १४ सामग्री मात्र खुला प्रतिष्पर्धाबाट किन्ने आयोगको तयारी रहेको बताउनु भयो । उहाँले मतपत्र छपाईका लागि आवश्यक पर्ने कागज र मतपेटिकाहरु आयोगसँग स्टक रहेकोले किन्नु नपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here