काठमाडौँ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६, भिरकुनामा बिहीबार साँझ भएको एक भयानक जिप दुर्घटनामा परी तीन जना महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार वाग्मती प्रदेश ०१–०३१ च ५९२४ नम्बरको जिप सडकबाट करिब पाँच मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाउनेमा महाकुलुङ गाउँपालिका–३, छेस्कामकी १६ वर्षीया हबी राई, सोही स्थानकी २० वर्षीया शान्ति राई र नाम नखुलेकी अर्की एक महिला रहेको प्रहरीले जानकारी दिएको छ।
जिपमा कुल ११ जना सवार थिए। ६ जना घाइते भएका छन् भने दुई जना सकुशल रहेका छन्। घाइते हुनेहरूमा चालक श्रीध्वज राई, गंगा राई, बस्तीकला राई, समया राई, सजना राई र उमेश राई रहेका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
घाइतेमध्ये १६ वर्षीया समया राई र १० वर्षीय उमेश राई उपचारपश्चात् डिस्चार्ज भएका छन् भने अन्यलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ। मृतकको शव महाकुलुङ आधारभूत अस्पताल, बुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरले जानकारी दिए।






