काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको पहिरोमा परी ज्यान गुमाएका युवा फुटबलरप्रति श्रद्धाञ्जली सभा गरेको छ ।
सादोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार एन्फाले वार्षिक स्मृति सभा आयोजना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको हो । २०८१ साल असोज १२ गते मकवानपुरको सिस्नेरीमा पहिरो परी दिवस बानियाँ, अनुपम घलाारन, साइमोन योन्जन, प्रियांश आचार्य, विकल रेग्मी र आदित्य बालम्पखीले ज्यान गुमाउनु परेको थियो ।
सिस्नेरीस्थित वात्सल्यदेवी उच्च माध्यमिक विद्यालयमा उनीहरू एन्फाद्वारा सञ्चालित एकेडेमीका खेलाडी थिए थिए । भारी वर्षाका कारण आएको पहिरोमा परी उनिहरूको ज्यान गएको थियो ।
आईतवार भएको स्मृति सभामा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडा, सदस्य पुरुषोत्तम थापासहित खेलाडी, प्रशिक्षक र फुटबलकर्मीले खेलाडीहरूको तस्बिरमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।






