निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने


९ आश्विन २०८२, बिहीबार १८:०६ मा प्रकाशित


काठमाडौं । निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने भएको छ ।


निर्वाचन आयोगको निर्णयअनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्नका लागि योग्य व्यक्तिहरुले आगामी कार्तिक मसान्तसम्म मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नसक्ने भएका हुन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावलीमा नाम संकलन गर्न नपाइने कानूनी व्यवस्था भएपनि सरकारले अध्यादेश जारी गरेर मतदाता नामावलीमा नाम संकलन गर्ने बाटो खोलेको बताउनु भयो ।

प्रतिनिधि सभाको विघटन हुनुअघि नै रुपन्देही क्षेत्र नम्बर ३ मा निर्वाचनको मिति तोकिएसँगै मतदाता नामावली संकलनको कार्य रोकिएको थियो । यस्तै फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति घोषणा गरे पछि पनि मतदाता नामावलीमा नाम संकलन गर्ने काम बन्द भएको थियो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्न योग्य भएका तर मतदाता नामावलीमा नाम नभएर मतदान गर्नबाट वञ्चित नागरिकलाई यसले मतदानको अवसर दिएको बताउनु भयो ।

स्थगनमा रहेको मतदाता नामावलीको नाम संकलन गर्ने प्रक्रिया बिहीवार (आज) कै मितिबाट शुरु भएको जानकारी दिनुभयो । मतदाता नामावलीमा नाम समावेश छैन भने आगामी कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम संकलन गर्न, त्रुटी भए सच्याउन र कोही बसाईंसराई भएको वा मृत्यु भएको छ भने लगत कट्टा गर्न आह्वान गर्नुभयो ।

कुन ठाउँबाट मतदान प्रक्रियामा भाग लिन होे त्यही ठाउँमा मतदाताको नामावली कायम गर्न आयोगले आग्रहसमेत गरेको छ । अहिले संकलन गरेको मतदाता नमावलीमा संकलित हुने मतदाताहरु फागुन २० गते १८ वर्ष पूरा हुनुहुन्छ भने फागुन २१ गते बिहान ७ बजेबाट प्रारम्भ हुने मतदान प्रक्रियामा उहाँहरु सहभागी हुन पाउने जानकारी दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here