झापा । हल्दिबारी गाउँपालिका–३ मा बृहत श्रमदान तथा सडक सरसफाइ अभियान सुरु गरिएको छ।
वडा कार्यालयमा हिजो सम्पन्न सर्वपक्षीय भेलाले सार्वजनिक सडक क्षेत्रभित्र रहेका डाले–काले घाँस, कोसेबाली तथा रुख–विरुवाहरू हटाउँदै सडकलाई व्यवस्थित बनाउन साझा निर्णय गर्दै अभियानको थालनी गरेको हो।
वडा अध्यक्ष विष्णुप्रसाद ओलीका अनुसार अभियानको सुरुवातसँगै स्थानीयवासीको उत्साहजनक उपस्थिति र घर–घरबाट प्राप्त सहयोगले यसलाई थप प्रभावकारी बनाएको छ। उनले सार्वजनिक हितका लागि निरन्तर साथ दिन सबैलाई आग्रह गरे।

अभियानको पहिलो चरण अन्तर्गत वडा नं–३ को पूर्वपट्टिको सिमाना देउनिया पुलदेखि भुसुडी पुलसम्म सडक सरसफाइ गरिएको छ। वडाको अगुवाइ तथा स्थानीय संघ–संस्थाको सक्रिय सहभागितामा योजनाबद्ध रूपमा कार्यक्रम सम्पन्न भएको वडा कार्यालयले जनाएको छ।
अभियानलाई निरन्तरता दिँदै भोलि सार्वजनिक विदाको अवसर पारेर दोस्रो चरणमा भुसुडी पुलदेखि काजली पुलसम्म सडक सरसफाइ गर्ने तयारी भएको छ। पछिल्लो समय हल्दिबारी क्षेत्रमा जनस्तरबाट सुरु भएका यस्ता अभियान प्रभावकारी देखिएका छन्।
यसै सन्दर्भमा वडाले आफ्ना घर–जग्गा वरपर सफा राखी असल नागरिकताको परिचय दिन सबैलाई आह्वान समेत गरेको छ।






