साउनको पहिलो सोमबार: देशभरका शिवालयमा भक्तजनको भीड


६ श्रावण २०८२, सोमबार ०७:३४ मा प्रकाशित

काठमाडौँ। आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।

श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वार। यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन रहेको छ।

शास्त्रअनुसार साउन महिनामा शिवको आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ। शिव पुराणमा वर्णित अनुसार यही महिनामा भगवान् शिवले समुद्र मन्थनबाट निस्किएको विष पान गरेर संसारको रक्षा गरेका थिए।

ज्योतिषीय रूपमा पनि साउन विशेष मानिन्छ, किनभने सूर्य कर्कट राशिमा रहने हुँदा चन्द्रमा सशक्त हुन्छ, जसले मानसिक शान्तिमा सहयोग पुर्‍याउँछ। यही कारण सोमबारको व्रतले पार्वतीलाई महादेव प्राप्त भएको धार्मिक कथन पनि छ।

पशुपतिनाथ दर्शनमा निःशुल्क बस सेवा

साउन महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सहज पहुँचका लागि यस वर्ष निःशुल्क बस सेवा उपलब्ध गराइएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीका अनुसार चार वटा बसले चक्रपथ घुमेर भक्तजनलाई मन्दिरसम्म पुर्‍याउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here