‘नेपालजस्तो वन सम्पन्न देशमा विदेशी काठ आयात हुनु दुर्भाग्यपूर्ण’


३० जेष्ठ २०८२, बिहीबार १५:५० मा प्रकाशित


काठमाडौं । वनसम्पन्न देश नेपालमा विदेशी काठ आयात हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै सांसदहरुले वन नीतिमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 


राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । नेपाल वन सम्पदामा धनी हुँदाहुँदै पनि मलेसिया लगायतका देशहरुबाट काठ आयात गर्नु दुर्भाग्यपूर्ण रहेको उनीहरुको भनाइ छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले नेपालमा करिव ४६ प्रतिशत भूभाग वन क्षेत्र रहेको उल्लेख गर्दै त्यसको उपयोग गर्न नसक्नु चिन्ताको विषय भएको बताउनु भयो ।

उहाँले ‘हरियो वन, नेपालको धन’ भन्ने नारालाई सरकारले व्यवहारमा रूपान्तरण गर्न नसकेको बताउनु भयो । उहाँले सरकारको नीतिगत कमजोरीको कारण काठ जंगलमै कुहिरहेको उल्लेख गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र)का अर्का सांसद जगतबहादुर पार्कीले सरकारले निर्माण गर्ने भौतिक संरचनामा नेपाली काठको प्रयोग अनिवार्य गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारी भवन निर्माणका लागि समेत आल्मुनियमको प्रयोगमा बढावा दिँदा काठको खपत झनै घटेको बताउनु भयो । 


बैठकमा अधिकांश सांसदहरूले नीति निर्माणदेखि कार्यान्वयनसम्म गम्भीर पुनरावलोकन गर्न आवश्यक रहेको भन्दै वन क्षेत्रको उपयोग, काठको उत्पादन तथा निर्यात नीतिमा दीर्घकालीन सुधारको माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here