काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेटबाट होटल व्यवसायीदेखि निकासी पैठारी गर्नेहरु उत्साहित देखिएका छन् । बजेटमा सबै कुरा नआएपनि समेटिएका धेरै विषयहरु अत्यान्तै सकारात्मक रहेको भन्दै उनीहरुले अब कार्यान्वयन पक्ष बलियो हुन जरुरी रहेको बताए ।
होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले बजेटमार्फत गरिएको घोषणाले होटल व्यवसायीहरु उत्साहित भएको बताउनु भयो । उहाकाअनुसार व्यवसायीले उठाएका सडकपूर्वाधार मर्मतदेखि विमानस्थल सञ्चालनसम्मका मागहरु बजेटमा समेटिएका छन् ।
उहाँकाअनुसार धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यमा पूर्वधार विकास गर्ने बजेटको घोषणा सकारात्मक हो । राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षित क्षेत्रमा जंगलसफारी, पदयात्रा र पर्यापर्यटकीय पूर्वाधार विकास गर्ने तथा हिल स्टेसन, होटल, लज लगायत पूर्वाधार विकासका लागि वन क्षेत्र लगायत सरकारी स्वामित्वको जग्गा लिजमा दिने घोषणाबाट पनि व्यवसायीहरु उत्साही भएका छन् ।
समग्रमा यसपालिको बजेट सन्तुलित र आस जगाउने खालको आएको छ । राखेको लक्ष्य हासिल हुन र बजेटका प्रावधानबाट लक्षित वर्ग लाभान्वित हुन यसको सफल कार्यान्वयन आवश्यक हुन्छ ।