प्रधानमन्त्रीले भनेका सबै कुराको जिम्मेवारी काँग्रेसले लिँदैनः प्रवक्ता महत


१३ जेष्ठ २०८२, सोमबार १५:१५ मा प्रकाशित


काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुराहरूको जिम्मेवारी काँग्रेसले नलिने स्पष्ट पारेको छ ।


सोमवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री ओली नेकपा (एमाले) को समेत अध्यक्ष रहनुभएको बताउँदै उहाँले भनेका सबै कुराहरूको जिम्मेवारी लिने कुरा नभएको बताउनु भयो ।

उहाँले आफूहरू समग्र संविधानको प्रतिरक्षाको पक्षमा रहेको बताउनु भयो । प्रवक्ता महतले संविधानले दिएको अधिकार प्रयोग गरेर विरोध तथा आफ्ना कुराहरू राख्न पाइने जिकिर गर्नुभयो । उहाँले शान्तिपूर्ण तरिकाले विरोध तथा प्रदर्शन गर्न संविधानले नै अधिकार दिएको जिकिर गर्नुभयो ।

उहाँले संविधानको विरुद्धमा जाने कुरा ठिक नभएको बताउनु भयो । उहाँले राजावादीहरुले जेठ १५ मा गर्न लागेको आन्दोलनलक्षित गर्दै संविधानविरुद्धका गतिविधिहरु काँग्रेसलाई स्वीकार्य नहुने बताउनु भयो ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार एक कार्यक्रममा जेठ १५ गतेका लागि राजावादीहरूले आह्वान गरेको आन्दोलन निस्तेज पार्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । उहाँले गणतन्त्र दिवसको दिन बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रण हुनुपर्ने बताउनुभएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here