काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आर्थिक वर्ष २०८२—०८३ को बजेट तथा कार्यक्रममा वातावरण तथा जलवायुमैत्री अभियानलाई विशेष महत्वका साथ अघि सारिएको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालको कार्बन उत्सर्जन लगायतका विषय समेटिएको दुई वर्षे पारदर्शिता प्रतिवेदन अन्तिम चरणमा पुगेको बताउनु भयो ।
आर्थिक वर्ष २०८२—०८३ को बजेट तथा कार्यक्रममा संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमार्फत सञ्चालित वातावरण तथा जलवायुमैत्री अभियानलाई विशेष महत्वका साथ अघि सारेको बताउनु भयो ।
मन्त्री ठकुरीले नेपालले सञ्चित गरेको कार्बनलाई अन्तर्राष्ट्रिय स्थानीय समुदायमा विक्री गरी आर्थिक लाभ उठाउने उद्देश्यका साथ कार्बन नियमावली २०८२ को अन्तिम मस्यौदा तयार गरिरहेको बताउनु भयो । उहाँले यही मे महिनाको १६ देखि १८ सम्म नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवादलाई विशेष गरी जलवायु परिवर्तन पर्वत र मानव भविष्यसँग जोडेर अन्तर्राष्ट्रिय स्तरमै यसको असरको बारेमा विश्व समुदायलाई जानकारी गराउनका लागि यो महत्वपूर्ण कार्यक्रम हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सगरमाथा संवादलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि नेपाल सरकारले आफ्नो तयारीहरु अघि बढाइरहेको बताउनु भयो । केही दिनभित्र सम्पूर्ण तयारी पूरा गरेर राष्ट्रिय महत्वको पर्वको रुपमा मनाउन गइरहेको बताउनु भयो ।
मन्त्री ठकुरीले जलवायु परिवर्तनको प्रभाव दिन प्रतिदिन झनै भयावह बन्दै गएको बताउनु भयो । नेपाल जलवायु परिवर्तनको प्रमुख कारक नभएपनि त्यसको पीडा भोग्नु परिरहेको बताउनु भयो ।