काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउन सुझाव दिनुभएको छ ।
बिहीवार ललितपुरमा नेपाल टेड युनियन काँग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले श्रमीकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति स्वदेशमी रहने र आफ्नै देशमा ज्ञान, सीप, वृद्धिको विकास र लगानी गर्ने वातावरण गराएर समृद्ध नेपालको हाम्रो सपना पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालको संविधानले रोजगारी र श्रमीकको हक र उचित पारिश्रमीक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको उल्लेख गर्नुभयो । यसअनुसार श्रम ऐन, ट्रेड युनियन ऐन लगायतका कानूनहरु नेपाली काँग्रेसको सरकार (आफू प्रधानमन्त्री) रहेकै बेलामा आएको बताउनु भयो ।
सामाजिक सुरक्षाले श्रमीकहरुको आफ्नो सम्मान गर्दै भविष्यको पनि सुनिश्चितता गर्ने दाबी गर्नुभयो । स्थानीय तहमा श्रम डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारबाट पहल गर्न आवश्यक रहेको बताउनु भयो ।
सभापति देउवाले लोकतन्त्रमा सबै श्रमीकको अधिकार सुरक्षित हुने बताउनु भयो । नेपाली काँग्रेस श्रमीक अधिकार दिने पक्षमा सदैव अग्रस्थानमा रहेको जिकिर गर्नुभयो ।