बिर्तामोडमा जेठ २ गतेदेखि बुद्धिचाल प्रतियोगिता हुने


१६ बैशाख २०८२, मंगलवार १३:४३ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोडमा जेठ २ गतेदेखि ४ गतेसम्म उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । उभौली पर्वको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

बिर्तामोड चेस क्लबको आयोजना तथा किराँत याक्थुङ चुम्लुङको सहआयोजनामा हुन लागेको प्रतियोगितामा १५० भन्दाबढी राष्ट्रिय खेलाडी हरु सहभागी हुने छन् ।

चेस क्लबका खेल डाइरेक्टर ज्वाला इम्बुङले प्रतियोगिताको तयारी तथा व्यवस्थापनको काम सुरु गरिएको बताउनुभयो । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा क्लबले प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।


क्लबका अध्यक्ष नारायण राईका अनुसार प्रतियोगिताका लागि नौ लाख ६१ हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रथम हुनेले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

कार्यक्रममा बोल्दै सह आयोजक संस्थाका अध्यक्ष हिमालय कन्दङबाले प्रतियोगितालाई भव्य बनाउन सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले विद्यालय तहमा बुद्धिचाल प्रतियोगिता आयोजना गर्न स्थानीय सरकारले तदारुकता देखाउनुपर्ने बताउँदै यसबाट विद्यार्थीमा प्रतिस्पर्धी क्षमताको विकास हुने र स्मरण शक्तिसमेत बढ्ने बताउनु भयो ।

कार्यक्रमको सञ्चालन क्लबका प्रेस संयोजक विजय बरालले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here