काठमाडौं । सरकार र शिक्षक महासंघबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ ।
शनिवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि र शिक्षक महासंघका प्रतिनिधि बीचको छलफलमा संवादलाई निरन्तरता दिने सहमति भएको हो । शनिवार बिहानदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो ।
वार्ताले छलफललाई निरन्तरता दिने र आन्दोलनका क्रममा शिक्षकहरुले उठाएका मागहरु पूरा हुनुपर्ने माग शिक्षकहरुले गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनु भयो ।
उहाँले शिक्षक महासंघ अहिले आन्दोलनमा रहेको र आन्दोलनका क्रममा उठाएका विषयवस्तुहरु मन्त्री पन्तसँग छलफल भएको बताउनु भयो । उहाँले बैठकले छलफल र संवादलाई निरन्तरता दिने निर्णय गरेको उहाँको भनाइ छ ।
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले सरकारले शुक्रवार दोस्रो पटक गरेको परिपत्रको आधारमा औपचारिक छलफलमा आएको बताउनु भयो । उहाँले अहिले नै निस्कर्षमा पुगि नसके पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल सरकारले आफूहरुका माग पूरा गरेको खण्डमा निस्कर्षमा छिटै पुग्ने बताउनु भयो ।
उहाँले मुलुकभरका विद्यालय र ७० लाख विद्यार्थी र अभिभावकहरुको जिम्मेवारी पनि शिक्षक महासंघलाई रहेको भन्दै शिक्षक कर्मचारीको सेवा सुविधा मात्रै सुनिश्चित गर्नका लागि नभइ गुणस्तरीय शिक्षा प्रदान गर्न नेपाल सरकार शिक्षा ऐन ल्याउन माग गर्दै आन्दोलनमा होमिएको बताउनु भयो । केही समय लाग्नसक्ने तर निकास दिएरै छोड्ने उहाँको भनाइ छ ।
विद्यालय शिक्षा विधेयक सदनमा प्रवेश गरे लगत्तै आन्दोलन रोक्ने शिक्षकहरुको अडान कायमै रहेको छ ।