काठमाडौँ, ३ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सह–महामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेकी उनले पार्टीमा एक व्यक्ति एक पदको नीति माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने भन्दै सह–महामन्त्री पदबाट राजीनामा दिएको स्रोतको दाबी छ ।
आफू संसदमा केन्द्रित रहनुपर्ने भएकाले पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने उनको धारणा रहेको स्रोतको भनाइ छ ।
समाचार स्रोतका अनुसार रवि लामिछाने पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिन उनले राजीनामा बुझाएकी हुन् । तर उनले राजीनामाका सम्बन्धमा हालसम्म कुनै पनि धारणा सार्वजनिक गरेकी छैनन् । उनले केन्द्रीय समिति बैठकमा नै आफ्ना कुरा राख्ने बताएको स्रोतको भनाइ छ ।
रास्वपाको केन्द्रीय समिति बैठक आज बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय चःमतीमा बस्दै छ । अध्यक्ष लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्रको विवाद थप चर्किएको छ ।