स्ववियु निर्वाचन : काठमाडौंका मुख्य क्याम्पसमा स्थगित, ४५ आंगिक क्याम्पसमा मतदान


४ चैत्र २०८१, मंगलवार १०:२९ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ४५ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको मतदान भइरहेको छ ।

त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार मतदान भइरहेका क्याम्पसमा शान्तिपूर्ण वातावरण छ ।

डोटीदेखि झापासम्म र मधेशमा पनि शान्तिपूर्ण मतदान भइरहेको छ । बिहानसम्मको अपडेट अनुसार ४५ वटा आंगिक क्याम्पसमा चुनाव भइरहेको छ,’ उनले भने ।

काठमडौंका थापाथली, पुल्चोक, मिनभवन, महाराजगन्ज, आयुर्वेद क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस लगायतमा मतदान भइरहेको छ ।

चुनावको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार र पत्रकारहरूको टोली अनुगमनमा खटिएको शिक्षाध्यक्ष खड्ग केसीले बताए । ‘अनुगमनसँगै सुरक्षाको लागि प्रहरीको टोली खटिएको छ,’ उनले भने ।

त्रिविका ६४ वटा अंगिक क्याम्पस र १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । २०७९ मा ५० वटा आंगिक र ३०० बढी सम्बन्ध प्राप्त क्याम्पसमा चुनाव भएको थियो ।

विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here