ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङमा शनिबार साँझ ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा दुवैतर्फका गरी २४ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालले रेफर गरेको छ ।
उनीहरूलाई धरानको घोपा लगिएको आन्दोलनरत समूहका अगुवा किर्तिमान मादेनले जानकारी दिए । प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मीतर्फ १२ जना छन् । उनीहरू मध्येका एक जनालाई थप उपचारको लागि जिल्ला बाहिर पठाइएको छ भने अन्यको स्थानीय अस्पतालमै उपचार भइरहेको छ । आन्दोलनरत समूह तर्फ पनि त्यतिनै सङ्ख्यामा रहेको प्रारम्भिक जानकारी रहेको रावलले बताए ।
रातको समयमा झडप भएको र कतिपय जिल्ला बाहिर गएर पनि उपचार गराइ रहेकाले यकिन तथ्याङ्क नभएको मादेनले बताए । प्रहरीले हुलहुज्जत गरेको अभियोगमा १५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा आन्दोलनको अगुवाई गरिरहेका नवीन पोमु लगायत रहेका छन् । तर प्रहरीले नाम भने खुलाएको छैन ।
हुल हुज्जत नियन्त्रणका लागि प्रहरीले २ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो । आन्दोलनरत पक्षले भने आन्दोलनकारी बसेको घर तथा होटल छापा मारेर कुटपिट गर्दै धरपकड तथा तोडफोड, कुटपिट गर्ने जस्ता अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।
आन्दोलन समूहका अर्का अगुवा प्रदिप मादेनले भने २७ जनालाई पक्राउ गरेको दावी गरेका छन् । स्थानीय प्रशासनले आज बिहान ५ बजेबाट फुङलिङ र पाथीभरा क्षेत्रको काफ्लेपाटी र बलुडाँडा क्षेत्रका चारकिल्ला तोकी निषेधाज्ञा जारी गरेको छ ।