काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले संसदलाई नजरअन्दाज गरेर अध्यादेश ल्याउनु गलत भएको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तत्कालीक आवश्यकताको परिपूर्तिका लागि अध्यादेश ल्याउने गरेपनि संसद शुरु हुनु भन्दा केही दिनमात्रै अगाडि अध्यादेश ल्याउनुले संसदलाइृ नजरअन्दाज गरेको महशुस हुने बताउनु भयो ।
उहाँले आर्थिक विकास र सुशासनका लागि अध्यादेश ल्याएने कुरा सरकारका माथिल्लो तहका व्यक्तिहरले भन्ने गरेको भन्दै आपत्ति जनाउनु भयो । यो अभिव्यक्ति जिम्मेवारी अनुकुलको नभएको उहाँको दाबी छ ।
संसदले बनाउने कानूनले सुशासन, आर्थिक विकासको बाटोमा कुनै व्यवधान खडा गरेको छ ? भन्दै प्रश्न गर्नुभयो । संसदबाट कानून बनाउँदा आर्थिक विकास र सुशासन नहुने र अध्यादेशबाट मात्रै प्रगति हुनसक्ने कुरा सम्भव नरहेको बताउनु भयो । प्रजातन्त्रमा संसदलाई बाइपास गरेर, संसदलाई नजरअन्दाज गरेर, संसदलाई अवमूल्यन गरेर कुनैपनि शासन अगाडि बढ्न नसक्ने जिकिर गर्नुभयो ।
सांसद साउदले सामाजिक सञ्जालका नाममा जसले जे लेखेपनि हुने, जे गरेपनि हुने प्रवृत्ति आउनु दुःखद् भएको बताउनु भयो । सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी रहेको तर नियमन गर्दा सामाजिक सञ्जालको कार्यालय राखेर नियमन शुरु गर्नुपर्ने बताउनु भयो । समाजको अभिव्यक्तिको स्वतन्त्रतालाई बन्देज लगाउनु नहुने बताउनु भयो ।






