काठमाडौं । काठमाडौंमा जारी ‘सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ आईतवार सम्पन्न हुँदैछ ।
शुक्रवारदेखि जारी कृषि मेलाले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम् प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । मेलाले कृषिमा प्रविधिको प्रयोगलाई बढावा दिने कृषि व्यवसायीको विश्वास छ ।
कृषि उपकरणको प्रचार प्रसारका लागि मेलामा स्वदेशी तथा विदेशी कृषि उपकरण कम्पनीहरुले स्टल राखेका छन् । मेलाले नेपालमा भएको कृषिसम्बन्धी सेवा र वस्तुलाई निर्यात गर्न मद्दत पु¥याउने र विदेशबाट गुणस्तरीय कृषि उपकरण आयात गर्ने उनीहरुको विश्वास छ ।
कृषि मेलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भएका विजनेसहरुलाई एक,अर्कामा आदानप्रदान गर्ने रुपमा बुझेको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका नायव महाप्रवन्धक रामशरण तिमल्सिनाले बताउनु भयो ।
उहाँले नेपालमा रहेको वस्तु तथा सेवालाई निर्यात गर्न तथा नेपाललाई आवश्यक कृषि उपकरण आयात गर्न सकियोस् भनेर मेलामा जोडिएको बताउनु भयो । कृषि उपकरण व्यवसायीहरुले गरिरहेका कामहरुबारे सरकारी तथा गैरसरकारी संस्थाहरुलाई देखाउने यो उत्तम विकल्प भएको समेत उहाँको भनाइ छ । उहाँले कृषिसम्बन्धी कुनैपनि उपकरण र कृषि व्यवसायको योजना बनाउनका लागि मुक्तिनाथ कृषि उपयुक्त भएको उहाँको भनाइ छ ।
एक्सपोमा कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई भैँसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेरिनरी, खाद्य प्रविधिबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । मुख्य प्रदर्शनी स्थलमा सबै विधाका अलग–अलग समूह स्टल रहने र प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको छ ।






