बिर्तामोड । पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षले आह्वान गरेको बन्दको प्रभाव सामान्य परेको छ । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको बन्दको पहिलो दिन सामान्य प्रभाव परेको हो ।
प्रहरीका अनुसार आइतबार बिहान राजमार्गमा यात्रुबाहक सवारी साधन चलेका छैनन् । कोशी प्रदेश प्रहरी प्रवक्ता भीम दाहालका अनुसार बन्दको प्रभाव ताप्लेजुङमा छ । अन्य जिल्लामा भने बन्दको प्रभाव सामान्य मात्र परेको बताउनुभयो ।
पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा बन्दको प्रभाव बढी छ । दुवै सडकमा यात्रुबाहक बस चलेका छैनन् । ठूला चोकहरूमा बन्दकर्ताहरु भेला भएका छन् ।
यसैबीच, दमक –६ स्थित आकाशे पुलमा भेला भई बन्द गराउन खोज्दा प्रहरीले ३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा लगिएको छ । पक्राउ पर्नेमा पदम बेघा, धनकुमार योङहाङ र शुक्र लिम्बू रहेका छन् । सवारी साधनको चाबी थुत्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाका डीएसपी कृष्णकुमार चन्दले बताउनुभयो ।
केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै अरुणपूर्वका नौं जिल्ला ९ झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथरमा बन्दको आह्वान गरेको थियो ।
एकसाता अघि पाथिभरा क्षेत्रको बलुडाँडामा प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएको थियो । झडपमा २१ प्रहरीसहित २६ जना घाइते भएका थिए । झडपमा २ जनालाई प्रहरीले चलाएको गोली लागेको थियो ।