मदन भण्डारी राजमार्ग स्तरोन्नतिको काम सुरु


१३ माघ २०८१, आईतवार ०८:३४ मा प्रकाशित

सल्यान । मदन भण्डारी राजमार्ग अन्तर्गत रोल्पा–सल्यान खण्डको स्तरोन्नतिको काम सल्यानको बागचौरबाट औपचारिक रूपमा सुरु भएको छ ।  बागचौर नगरपालिका–२ को सहिद पार्कमा नगरप्रमुख जनकराज गौतम, उपप्रमुख सुम्निमा डिसीले संयुक्त रूपमा  शिलान्यास गरेर यो महत्वपूर्ण परियोजनाको औपचारिक सुरुवात गरिएको हो । 

रोल्पाको माडीचौरदेखि घर्तीगाउँ, सुकाओडार हुँदै सल्यानको पातिहाल्न–बागचौरसम्मको ५२ किलोमिटर सडक दुई लेन कटिङसहित कालोपत्रे गरिने छ । बागचौर नगरपालिकाका उपप्रमुख सुम्निमा डिसीका अनुसार सडक निर्माणका लागि तीन वर्षको अवधि २०८४ भदौ ९ गतेभित्र सम्पन्न गर्ने समयसीमा तोकिएको बताउनुभयो ।

उहाँका अनुसार यो परियोजनाका लागि चार अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ । जसमा तीन अर्ब २६ करोड रुपियाँको लागतमा निर्माण कम्पनी कुमार श्रेष्ठ निर्माण सेवा प्रालि काठमाडौँले काम सुरु गरेको छ । सडक सात मिटर चौडाइको हुने छ भने बजार क्षेत्र र घुम्तीमा चौडाइ थप गरिने छ । 

मदन भण्डारी राजमार्ग नेपाललाई पूर्वदेखि पश्चिमसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा परिचित छ । यो राजमार्गले नेपालको पहाडी भूभागलाई समेट्दै झापाको काँकडभिट्टादेखि बैतडीको झुलाघाटसम्म फैलिएको छ । यसले दुर्गम क्षेत्रहरूको विकास, ग्रामीण अर्थतन्त्रको प्रवर्धन र पर्यटनका लागि नयाँ सम्भावना सिर्जना गर्ने छ । सडक कालोपत्रे हुने भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

पहाडी भेगका ग्रामीण क्षेत्रमा वर्षायाममा हिलो र खाल्टाखुल्टीका कारण तथा वैशाख–जेठमा धुलोले सास्ती भोग्नु परेको अवस्थामा यो सडकले यातायातलाई सहज बनाउने अपेक्षा गरिएको छ ।  बाागचौर नगरपालिका–८ का प्रकाश डाँगीले सडक स्तरोन्नतिको कार्य पूरा भएमा यसले व्यापार, कृषि उत्पादनको ढुवानी, स्वास्थ्य सेवा र शैक्षिक पहुँचमा सुधार ल्याउन सहयोग पुर्‍याउने  बताउनुभयो । 

यो सडकले रोल्पा, सल्यान जस्ता पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुको पहुँचभित्र ल्याउने छ । धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्धनसँगै कृषि र अन्य उत्पादनलाई बजारसम्म पुर्‍याउन यो महत्वपूर्ण माध्यम बन्ने छ । मदन भण्डारी राजमार्गको स्तरोन्नतिले यातायातलाई आधुनिक बनाउँदै पहाडी क्षेत्रहरूको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here