बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यपार महोत्सव, शैक्षिक परामर्शदेखि पर्यटन वर्ष २०८२ प्रचारसम्म


११ माघ २०८१, शुक्रबार १८:०८ मा प्रकाशित

झापा, माघ ११ । मेला या महोत्सव केवल मनोरञ्जनका लागि घुम्ने गरिन्छ । कतिपय मेला महोत्सवमा मनोरञ्जनका साथै दैनिक उपभोग्य साम्रगीहरुको सूपथ मूल्यमा खरिद बिक्री समेत हुन्छ । तर, झापाको बिर्तामोडमा जारी ‘ बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा भने सहभागीले मनोरञ्जन मात्र लिएका छैनन् उनीहरुले शैक्षिक परामर्शदेखि पूर्बका पर्यटकीय क्षेत्रको जानकारी र पर्यटन वर्ष २०८२ को समेत जानकारी पाइरहेका छन् ।


विभिन्न कन्सलट्यान्सीहरुले महोत्सवमा सहभागीलाई उच्च शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श प्रदान गरिरहेका छन् भने पर्यटन कार्यालय काँकरभिट्टाले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को विषयमा जानकारी गराइरहेको छ । कोशी प्रदेश सरकारले २०८२ साल लाई पर्यटन वर्ष घोषणा गरेको छ ।


 अधिकांश विद्यार्थीले माध्यमिक तहको  परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि विदेश रोज्छन् । तर, उचित शैक्षिक पराशर्म नपाउँदा उनीहरु कुन देशको  शैक्षिक अवस्था कस्तो छ भनेर अनभिज्ञ रहन्छन् । यस्तो अवस्थामा सारथि हुन्छन् कन्सलट्यान्सीहरु । तिनै कन्सलट्यान्सीले बिर्तामोड महोत्सवमा विद्यार्थी र उनीहरुका अभिभावकलाई लक्षित गर्दै शैक्षिक परामर्शका लागि स्टलहरु राखेपछि महोत्सवमा सहभागीले त्यसको भरपूर फाइदा लिएका छन् ।


बिर्तामोडमा रहेको वीज इन्टर नेशनल एजुकेशन सर्भिसले महोत्सवमा स्टल राखेर शैक्षिक परामर्शको क्षेत्रमा जानकारी गराइरहेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै कन्सलट्यान्सीले पराशर्म दिइरहेको वीज इन्टरनेशनलका प्रवन्ध निर्देशक  अशोक भण्डारीले जानकारी दिए । वीज इन्टरनेशनलले अष्ट्रेलिया , जापान, युके, न्यूजरल्याण्ड लगायतका विश्व विद्यालयका विषयमा परामर्श महोत्सल स्थलमै प्रदान गर्दै आएको छ ।


महोत्सव स्थलमा नै रहेको अर्बन स्पेश एजुकेशन कन्सलट्यान्सीका प्रवन्ध निर्देशक तुलसी पाठकले कोरिया, जापान, युके लगायतका मुलुकमा रहेका विश्व विद्यालयका विषयमा महोत्सव स्थलमा सहभागीलाई पराशर्म दिदै आएको जानकारी दिए । महोत्सव स्थलमा विद्यार्थीदेखि अभिभावक समेत सहभागीता हुने भएकाले परामर्श दिन सहज भएको उनको भनाई छ ।
विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या वार्षिक रुपमा बढ्दो छ ।

सरकारको पछिल्ला वर्षको तथ्याङ्कलाई अध्ययन गर्दा विदेश अध्ययनका गर्ने जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको देखाउँछ । शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी)’ लिएर विदेश अध्ययन गर्न गएका  विद्यार्थी मध्ये कजि नेपाल फर्किए त्यसको कुनै तथ्याङ्क छैन । तर, विदेश अध्ययनका लागि जाने विद्यार्थीको संख्या भने बढ्दो छ । विदेशमा उच्च आयको रोजगारीको ग्यारेन्टीले समेत नेपाली विद्यार्थी विदेश पढ्न रुचाउँछन् । जसका कारण नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेका हुन् ।  


विद्यार्थीलाई महोत्सव मूल आयोजक समितिले निःशुल्क प्रवेशको व्यवस्था गरेसंगै महोत्सव अवलोकनका लागि विद्यार्थीलाई सहज भएको छ । विद्यालय पोशाक र शिक्षकको रोहवरमा महोत्सव स्थलमा पुगेका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव मूल आयोजक समिति संयोजक विशाल थापाले बताए ।


महोत्सव स्थलमा पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत रहेको पर्यटन कार्यालय काँकरभिट्टाले पर्यटन वर्ष २०८२ का विषयमा जानकारी गराउँदै आएको छ । जसले पर्यटन प्रहरी र पर्यटन वर्षका विषयमा जानकारी गराइरहेको पाइएको छ ।


‘हाम्रो सभ्यता र हाम्रो संस्कृति, अथितिको सत्कार पर्यटन मैत्री व्यहार, प्रहरी र नागरिक बरावर जिम्मेवार’ नारा सहित पर्यटन कार्यालयले पूर्वका पर्यटकीय क्षेत्र र पर्यटन वर्षका विषयमा महोत्सवमा सहभागीलाई जानकारी गराएको हो ।


पर्यटन प्रहरी कार्यालय काँकरभिट्टाले समेत ११ वुँदे अपिल सहित पर्यटक लाई स्थानीय पर्यटकीय गन्तव्यका वारेमा जानकारी गराउँदै पर्यटकको सुरक्षामा ध्यान दिन अनुरोध गरेको छ । अपिलमा भनिएको छ – ग्रामीण पर्यटनको प्रर्वद्धन गरौं, गन्तव्यहरुको सही सूचना सम्प्रेषण गरौं’ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here