३ अर्ब ४० करोड लगानीमा नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा


११ माघ २०८१, शुक्रबार ११:०१ मा प्रकाशित

विराटनगर । नोबेल मेडिकल कलेजमा रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि ल्याइएको छ ।


अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक ल्याइएको हो । यस्तो किसिमको प्रविधि एशियाको ६ ठाउँमा मात्रै उपलब्ध भएको अवस्थामा सांसद डा. सुनिल शर्माले आफ्नै अस्पताल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पहिलो पटक सञ्चालनमा ल्याउनुभएको हो ।

डा. शर्माले उत्कृष्ट प्रविधिसहित गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गर्दै रेडिएसन थेरापी सेवा शुरु गराउनुभएको हो । डा. शर्माले ३  अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधिसहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको शुरुवात गर्नुभएको छ । सांसद डा. शर्माले गरिव परिवारको निःशुल्क स्वास्थ्य उपचारदेखि अत्याधुनिक स्वास्थ्य सामग्री खरिद गर्नेसम्मका काम निरन्तर रुपमा गर्दै आउनुभएको छ ।

यसै क्रममा दक्षिण एशियाका असपतालमध्ये भारतको मुम्बईस्थिति कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा १, म्याक्स अस्पतालमा ३, नयाँदिल्ली स्थित मेदान्तामा २ गरी ६ स्थानमा मात्र जडान गरिएको अमेरिकामा निर्मित भेरियन कम्पनीको रेडिएसन थेरापीको ‘इडिजिइ’ नामक उपकरण नेपालको हकमा विराटनगर स्थित नोबेल मेडिकल कलेजमा मात्र उपलब्ध छ । नेपालमै पहिलो पटक नोबेल मेडिकल कलेजमा जडान भएसँगै अब आम नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुने विश्वास अस्पतालको छ ।

यस उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस, र एसबी आरटीले शल्यक्रियाविना नै क्यान्सर सेललाई निर्मुल गर्नसक्छ । आईजी आरटी, आईएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ ।

ब्राकी थेरापीले बिना दुखाई उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्दछ । यसका साथै, ४ डी आरटीसीटी नामक सिटी स्क्यान मेशिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ ।

नोबेलमा क्यान्सर उपचारकोलागि दैनिक ओपीडी, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एम. आर. आई, अल्ट्रासाउण्ड, डे केयर, केमो थेरापी, शल्यक्रिया, भर्नागरी उपचार गराइने अन्तरङ्ग सेवा, रेडिएसन थेरापी लगायतका सेवा सञ्चालनमा छन् । नोबेल मेडिकल कलेज नेपाली काँग्रेसका युवा नेता सांसद डा. सुनिल शर्माको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here