काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिका लागि मात्रै राजनीति गर्दा देश बदलिन नसकेको बताउनुभएको छ ।
बुधवार नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीति राजनीतिका लागि मात्रै गरिरहेको अवस्थाले देश बन्न नसकेको बताउनु भयो ।
उहाँले ऋण लिने तर ऋणको सही ढंगबाट सदुपयोग नगर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालको राजनीतिमा अहिले एकातिरबाट सरकार ढल्यो भन्ने भ्रम फैल्याउने र अर्कोतर्फबाट ढल्दैन भनेर स्पष्टीकरण दिइरहनुपरेको बताउनु भयो ।
उपसभापति गुरुङले पोखरा—मुग्लिङ सडक फोर लेन र मुग्लिङ—काठमाडौं डेडिकेटेड डबल लेन मात्रै बनाउने कुरा अव्यवहारिक रहेको बताउनु भयो ।