काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपाल को कानूनमा समावेश हुने बताउनुभएको छ ।
बुधवार काठमाडौंस्थित शसस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री लेखकले केही दिनमा लामो समयदेखि सशस्त्र प्रहरी जवानहरुले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानूनमा समावेश घोषणा गर्नुभयो । उहाँले सम्पूर्ण अधिकृतदेखि जवानहरु समेतको आवाजलाई समेटेर कानूनको तर्जुमा गरिएको उल्लेख गर्नुभयो ।
उहाँले आफू गृहमन्त्री बनिसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानूनी स्थिरतामार्फत थप प्रभावकारी, व्यवसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्नेकुरामा जोड दिइरहेको बताउनु भयो । सशस्त्र प्रहरी बल नेपालको कानूनलाई केही दिनमै विधेयकका रुपमा संसदमा दर्ता गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न सशस्त्र प्रहरी बलले काम गरिरहेको बताउनु भयो । सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई संगठनले प्राथमिकतामा राखि कार्य सञ्चालन गरिरहेको बताउनु भयो ।
हालसम्म नेपालले मर्मत गर्नुपर्ने २ हजार ३०८ वटा सीमा स्तम्भहरुको मर्मत तथा रंगरोदन सम्पन्न गरिसकेको बताउनु भयो । सीमा क्षेत्रका समकक्षी सुरक्षा निकायहरुसँग नियमित बैठक आयोजना गरी सौहद्रपूर्ण सांगठनिक समन्वयका साथ सहकार्य गरिरहेको बताउनु भयो ।
राज्यको सीमा सुरक्षा पहराले मात्र बलियो नहुने भन्दै सीमा क्षेत्रका नागरिकको मन, मस्तिष्क र विश्वास जितेर परिचालित हुनसके उनीहरुमा समेत सीमा सुरक्षाको सम्बन्धमा जिम्मेवारी बोध हुने उल्लेख गर्नुभयो ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बलका जवानहरुले जागिर नभइ सेवा गर्नुपर्ने भावनाका साथ काम गरिरहेको बताउनु भयो । नागरिकको मन, मस्तिष्क जित्ने अभियानमा सबै लाग्नुपर्ने ध्येयका साथ सशस्त्र प्रहरी बल नेपालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम गरिरहेको बताउनु भयो ।