काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्वका साथ उठाउनुपर्ने बताउनुभएको छ ।
सोमवार काठमाडौंमा तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह—२०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अहिले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्ने कुरा अहिले मौकाको रुपमा रहेको बताउनु भयो ।
उहाँले कृषि विधेयकमा अहिले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दै माघको २० गतेसम्म संसदमा दर्ता गर्ने तयारी गरिएको बताउनु भयो । अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानूनहरु बनाएपनि मुल कानून बनाउन नसकिएकाले अब बन्ने कानून कृषिको मुल कानून हुने बताउनु भयो ।
कृषिको मुल कानून बनाउन नसक्दा कृषिले गति लिन नसकेको बताउनु भयो । रैथाने बीउबिजन, उत्पादन, जैविक विविधताको संरक्षणलाई विधेयकमा महत्वपूर्ण रुपमा हेरिनुपर्ने बताउनु भयो ।