काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।
मंगलवार शितल निवासमा माघे संक्रान्तिको अवसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले परम्परागत रुपमा प्राचिन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्वको विशेष महत्व रहेको बताउनु भयो । उहाँले साउने संक्रान्ति र माघे संक्रान्ति पर्व मात्र नभइ नेपालीहरुको जनजीवन रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘परम्परागत रुपमा प्राचिन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्व मात्र नभएर नेपालीको जनजीवन हो । हाम्रो राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँ भन्ने आह्वान गर्दछु । देशमा सुशासन र शान्ति स्थापना गर्नु नै राजनीतिक कर्मीहरुको दायित्व हो ।’ राष्ट्रपति पौडेलले देशमा सुशासन र शान्ति स्थापना गर्न जरुरी रहेको बताउनु भयो ।
सो अवसरमा आज बिहान घ्यु,चाकु, तरुलको भोजको समेत आयोजना गरिएको छ । माघी पर्वको अवसरमा आज शितल निवासमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव, विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको छ ।