काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समिकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस र एमालले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्नसक्ने अवस्था बनेको भन्दै वर्तमान सरकारले पनि त्यो खालको काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
उहाँले विगतमा नेपाली काँग्रेसका गिरिजाप्रसाद कोईराला र एमालेका मनोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि भएको बताउनु भयो । उहाँले यस पटक काँग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्ने भन्दै तीन वर्ष भनेको सानो समय नभएकाले नेपाली नागरिकले बेनिफिट पाउनुपर्ने बताउनु भयो ।
उहाँले विगतमा २०४८ सालमा संविधान,२०७० मा संविधान पाएको उदाहरण दिँदै अहिले बिग्रेको अर्थतन्त्रको क्षेत्रमा ठोस रुपमा सुधार हुनुपर्ने बताउनु भयो । उहाँले सुधार भए मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहने बताउनु भयो ।
उहाँले केही जनता र उद्योगी व्यवसायीहरुको लागि भनेर वर्तमान सत्ता समिकरणले दिनरात नभनि अर्थतन्त्र सुधारको लागि काम गरिरहेको बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रुपमा सुधार गर्ने प्रयास गरिरहेको बताउनु भयो ।
उहाँले नेपाल उत्पादन जुत्ता ५० लाख जोर जुनसुकै अवस्थामा पनि निर्यात हुनसक्ने अवस्था रहेको भन्दै नेपाली उत्पादनले नेपालभित्र बजार पाउने सम्भावना ठूलो रहेको बताउनु भयो । उहाँले सम्भावनाको ठूलो क्षेत्र भएकाले सरकारले यो क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नु जरुरी रहेको बताउनु भयो ।