लगातार २ वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मंसिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ । गएका २ वर्षको हिउँद उल्लेख्य वर्षा नभई सकिएका थिए ।
यो वर्षको हिउँदको मध्यतिर आइपुग्दा पनि वर्षाको कुनै सम्भावना छैन । नेपालको उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा छिटफुट हिमपात भएपनि महाभारत, चुरे र तराईमा वर्षा हुन सकेको छैन । नेपालमा हुने वर्षाको ८ देखि १० प्रतिशत वर्षा हिउँद याममा हुने बताइन्छ ।
यस्तै अंग्रेजी महिनाको जनवरीमा ६० मिलिमिटर वर्षा हुनुपर्छ भन्ने मत मौसमविद्हरुको छ । विगत वर्षको अनुभव र यो वर्षको अनुमानले जनवरीमा वर्षा हुने सम्भावना कम छ, भयो भने पनि ६० मिलिमिटर भन्दा कम हुने अनुमान छ । जलवायुविद् डा. धर्मराज उप्रेतीले यो हिउँदमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत अनुमान गरिएको बताउनु भयो ।
नेपालको हिउँद यामको वर्षा अरब सागरमा बन्ने जलचक्रिय प्रणाली र पश्चिमी वायुमा बढी निर्भर छ । यी दुवै प्रणालीमा पानी पार्ने जलयुक्त वास्फको कमीले वर्षा हुन सकेको छैन ।
हिउँदे वर्षाको महत्व
नेपालमा हिउँदे वर्षाको निकै महत्व छ । हिमालय क्षेत्रमा उद्गम भएर बग्ने नदीको पानीको मुख्य श्रोत नै हिउँदे वर्षा सँगै हुने हिमपात हो । नेपालमा हिउँदको वर्षाले हिमाल र जमिनमा पानीको पुनःभरणको काम गर्छ । हिमालमा हिउँको रुपमा र हिउँ नपर्ने स्थानमा पानी जमीन भित्र गइ जम्मा हुन्छ ।
यो नै पछि गएर मुलको रुपमा बाहिर आउछ । हिउँदमा पानी नपरे वर्षायाममा घटेको जलसतहमा पुनःभरण हुन पाउँदैन जसको असर वर्षायाममा मुल फुट्न समय लाग्ने साथै कतिपय स्थानमा मुल फुट्न नै नसक्ने हुन्छ ।
अर्कोतर्फ हिउँदे वर्षा नहुँदा वन डढेलो र आगलागीको घटना बढेर जान्छ । आगलागीले जनधनको क्षतिसँगै वायु प्रदुषण बढाउछ । प्रदुषणको घनत्व जति बढी हुन्छ त्यति सुख्खा र पानी कम पर्ने सम्भावना बढेर जान्छ ।






