काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हटेदेखि नै पार्टीभित्रको महोल शान्त हुने बताउनुभएको हो । उहाँले नेता भीम रावललाई पार्टीले निष्कासन गरेको विषयमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले एमालेभित्र प्रश्न उठाएपछि सजाय भोग्नुपर्ने अवस्था रहेको बताउनु भयो ।
उहाँले यसबारेमा आफूले एमालेमै रहँदा प्रश्न गरेको भएपनि त्यसबेला प्रतिशोधका लागि प्रश्न आयो भन्ने टिप्पणी भएको बताउनु भयो । उहाँले ओलीले एमाले नेतृत्व नछोडे नेताहरुको उकुसमुकुस अझै बढ्ने बताउनु भयो । ओलीले पार्टीको नेतृत्वमा रहेर गर्नुभएका निर्णय, निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा लिनुभएका निर्णयहरु असफल भइसकेको बताउनु भयो ।
उहाँले नेता भीम रावललाई आफ्नो पार्टीमा आउन आह्वान गर्नुभयो ।