सरकारसँग व्यापारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस्


९ मंसिर २०८१, आईतवार १३:५१ मा प्रकाशित

काठमाडौं ।
साना तथा मझौला व्यापारीहरुले सहकारी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।


काठमाडौंको न्युरोड क्षेत्रमा व्यापार÷व्यवसाय गर्दै आएका उनीहरुले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहकारी क्षेत्रमा आएको संकटका कारण पनि आफूहरुको व्यवसाय फस्टाउन नसकेको प्रतिक्रिया समेत दिएका छन् । व्यापारीहरुले वैदेशिक रोजगारीमा जानेहरुको लर्कोले पनि व्यापार दिनप्रतिदिन घटदै गईरहेको बताएका छन् ।

राष्ट्रिय व्यापार संघका उपाध्यक्ष वैकुण्ठ दाहालले सहकारीको समस्याले होलसेल बजारमा धेरै ठूलो नकारात्मक असर परेको गुनासो गर्नुभयो । उहाँले सो समस्या समाधान गर्न र बैंक तथा वित्तीय संस्थाहरुलाई साना तथा मझौला व्यापार, व्यवसायमा लोन प्रवाह गरिदिन पनि सरकारसँग माग गर्नुभयो । 


पुस्तक व्यापारीहरु पनि युवा पुस्ता प्लस टु सकिएपछि विदेशिने क्रम बढेकाले व्यापार ठप्प भएको बताउँछन् । खाँडादेवी सेकेण्ड हेण्ड बुक सपका सञ्चालक आशिष खत्रीले गत वर्षको तुलनामा यस वर्ष पुस्तकको व्यापार ५० प्रतिशत भन्दा बढी घटेको बताउनु भयो । पढ्ने उमेरका युवाहरु विदेश जाने भएपछि व्यापार घट्ने कुरा स्वभाविकै हुने उहाँको बुझाई थियो । 


जुत्ताको व्यापार गर्दै आएका व्यवसायीहरुले पनि जुत्ता लगाउने जनशक्ति बाहिर गएकाले आफूहरुको व्यापार नभएको बताएका छन् । जुत्ता लगाउने युवा उमेरका मानिसहरु विदेशमा रोजगारीका लागि जाने क्रम बढेकाले जुत्ताको व्यापार विगतको भन्दा २५ प्रतिशत पनि हुन नसकेको दावा सुज एण्ड फेसन सेन्टरका संचालक छावाछिरिङ लामाको अनुभव छ । उहाँले बजारमा ग्राहकको नै अभाव देखिएको पनि बताउनु भयो । 


भूकम्प र कोभिड महामारीपछि आफूहरुको व्यापार खस्कँदै गएको नमूना फेसन कलेक्शनका नवराज गौतमले बताउनु भयो । उहाँले सहकारीको वचत रकम फिर्ता नहुँदा पनि व्यवसाय चलाउन कठिन भएको बताउनु भयो ।


व्यापारीहरुकाअनुसार देश भित्रै रोजगारी अभिवृद्धि गर्ने र सहकारीलगायतका वित्तीय संस्थाहरुलाई व्यवसायमैत्री बनाउन सकेमात्रै मुलुकमा व्यापार व्यवसाय फस्टाउने भएकाले यस काममा सरकारले विशेष ध्यान दिनुपर्दछ ।

राष्ट्रिय व्यापार संघका उपाध्यक्ष दाहालले बैंकहरुले ठूलो व्यापारीहरुलाई मात्रै लोन दिने भएकाले पनि आफूहरु मारमा परेको उल्लेख गर्दै यस्तो अवस्थामा सरकारले आफूहरुको संरक्षण हुनेगरी कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here