काठमाडौं । तिहारमा फूलमाला र पालासँगै कुचाको माग पनि अत्याधिक हुने गर्दछ । नेपालका मुख्य शहरहरुमा कुचोको माग यतिबेला अत्याधिक नै हुन्छ । कुचो व्यवसायीहरुलाई आपूर्ति धान्न गाह्रो हुन्छ ।
तिहार नेपालीहरुको हर्षोल्लासको पर्व भएकाले तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, भाइमसला, माटोको पाला, फूलमाला र कुचोको माग अन्य समयको तुलनामा दोब्बर हुन्छ । अझ कुचोको माग त नेपालमा भन्दा भारतीय बजारमा बढी हुने व्यवसायीहरु बताउँछन् ।
कुचोमा पनि झाडु र अमृषोको कुचो हुन्छ । अमृषोको कुचो भारतीय बजारमा बढी माग हुने नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की बताउनु हुन्छ । यतिसम्मकी भारतीय बजारमा कुचोको मागले नेपालमा कुचोको मूल्य निर्धारण गर्छ । काठमाडौंमा गजमुखी झाडु कुचो उद्योग सञ्चालन गर्दै आउनुभएका अध्यक्ष कार्कीले कुचोको व्यापार शुरु गर्नुभएको २०४९ सालदेखि नै हो । इलाममा आफ्नो पुख्र्यौली घरमा २०३० सालमा आफू जन्मिदा पनि आफ्ना पिताले कुचाको व्यापार गर्नुभएको सम्झना उहाँलाई छ ।
त्यसैले उहाँले पनि पुख्र्यौली पेशा २०४९ सालदेखि गर्दै आउनुभयो । काठमाडौंमा आएर व्यापार शुरु गरेको भने उहाँले १४ वर्ष करिव पुग्यो । अध्यक्ष कार्कीले यस वर्षको दीपावलीमा दीपावलीमा काठमाडौं उपत्यकामा १० करोड भन्दा बढीको अमृषोको कुचो विक्री हुने आँकलन गरेको बताउनु भयो । उहाँले अब अमृषो बनाउँदा गुणस्तरीय बनाउन आग्रह गर्नुभयो । किसानले पनि समयमै व्यापारीहरुलाई दिने र राम्रोसँग सुकाउनुपर्ने बताउनु भयो ।
उहाँले व्यवसायीहरुले पनि विपद्का कारण आवतजावतमा समस्या पर्ने भएकाले मागको आपूर्ति समयमा हुन नसक्दा कालोबजारी हुनसक्ने कुरालाई मध्यनजर गरी समयमै माग पूरा गर्न र तोकिएको मूल्य भन्दा बढीमा विक्री नगर्न आग्रह गर्नुभयो । मागपूर्तिका लागि रातीको समयमा पनि काम गर्न आग्रह गर्नुभयो ।