पेट्रोलियम भण्डारण गृह निर्माणस्थलको जमिन डिजिटल म्यापिङ प्रविधिबाट नापजाँच


११ कार्तिक २०८१, आईतवार १५:२४ मा प्रकाशित

झापा । झापाको चारआलीमा निर्माण हुने पेट्रोलियम भण्डारण गृहको निर्माणस्थलको जमिन डिजिटल म्यापिङ प्रविधिबाट नापजाँच गरिएको छ । मेचीनगर–१३ स्थित आयल निगम लिमिटेडको विवादित जमिनको क्षेत्रफल जिल्ला अदालत झापाको रोहबरमा नापी कार्याल, झापाले डिजिटल म्यापिङ प्रविधिको प्रयोग गरी नापजाँच थालेको हो ।

सात वर्षअघि निगमलाई जग्गा बिक्री गरेका साबिकका धनीहरु छत्रबहादुर कार्की र उनकी बिहिनी रिताले पुनः सोही जग्गा हडप्न आफ्नो हकदाबी गर्दै जिल्ला अदालत झापामा गत चैतमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै अदालतले विवाद निरुपणका लागि जग्गा पुनः नापजाँच गर्न आदेश दिएको थियो । कुल २३ बिघा ३ कठा १३ धुर जग्गा फिताको माध्यमबाट मापन गर्दा समेत यकिन हुन नसकेपछि नापी कार्यालय झापाले डिजिटल म्यापिङ प्रविधिको प्रयोग गरी नापजाँच गरेको हो । नापी अधिकृतहरुका अनुसार टोटल स्टेशन (टिएस) प्रविधिबाट नापजाँच भइहरहेको हो । यो प्रविधिको उपयोगले जग्गाको यकिन नाप आउने र विवाद समाधान हुने नापी अधिकृतहरुको भनाइ छ ।

यसअघि ५ र ६ असोजमा पनि अदालतको आदेशपछि जग्गाको नापजाँच भएको थियो । त्यतिखेर हातले फित्ता तानेर नापजाँच गर्दा यकिन नाप नआएपछि अहिले डिजिटल प्रविधि उपयोग गरिएको हो ।

निमगले सो जग्गामा सिलगुढीदेखी ५० किलोमिटर लामो पाइपलाइन बिछ्याएर भण्डारण गृहसमेत बनाउने योजना छ । विवाद छिटो समाधान भए भारतीय सहयोगमा बन्ने पाइपलाइन र भण्डारण गृहको योजना अघि बढाउन सजिलो हुने परियोजना प्रमुख प्रदिप यादवले बताउनुभयो ।

उक्त जग्गामा भण्डारण गृह र पाइपलाइन बनाउन भारतसँग सम्झौता भइसकेको छ । जग्गामा १८ हजार ९ सय किलोलिटर क्षमताको भण्डारण गृह भारतले बनाइदिने सम्झौता भएको छ । विवाद समाधान हुने लगत्तै निगमले यहाँ परियोजनाको काम अघि बढाउने लक्ष्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here