साफ महिला च्याम्पियनशिपमा श्रीलङ्कालाई हराउँदै नेपाल सेमिफाइनलमा


८ कार्तिक २०८१, बिहीबार १९:४६ मा प्रकाशित

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा घरेलु टोली नेपाल समूह ‘बी’को विजेता बनेर सेमिफाइनलमा पुगेको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६-० गोलले पराजित गरेर समूह विजेता बन्यो।

नेपालले समूहमा ७ अंक जोड्दा उपविजेता बनेको भुटानले पनि ७ अंक नै जोड्यो। गोलअन्तरमा भने नेपालले भुटानलाई एक गोलले पछि पार्‍यो । यसअघि नेपालले माल्दिभ्सलाई ११-० गोलले पराजित गर्दा भुटानसँग गोलरहित खेलेको थियो।

अब नेपालले आइतबार दोस्रो सेमिफाइनलमा भारतसँग खेल्नेछ। त्यसअघि भुटान र बंगलादेश पहिलो सेमिफाइनलमा भिड्ने छन्। बिहीबार समूहको अन्तिम खेलमा नेपालले श्रीलंकाविरूद्ध पहिलो हाफमै चार गोल गर्दा दोस्रो हाफमा दुई गोल गर्‍यो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि रेखा पौडेलले दुई गोल गरेकी छन्। अघिल्लो खेलमा माल्दिभ्सविरूद्ध पाँच गोल गरेकी रेखाले बिहीबार श्रीलंकाविरूद्ध १३ र ३६ मिनेटमा गोल गर्न सफल भइन्। रेखाले १३ मिनेटमा अमिषा कार्कीले गरेको क्रसमा डिबक्स भित्रबाट उत्कृष्ट भलिमार्फत् बललाई गोल पोस्टको दिशा दिएकी थिइन्।

३६ मिनेटमा रेखाले सावित्रा भण्डारी साम्बाले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहारलाई गोल लाइन नजिक छुँदा जाली चुमेको थियो। त्यसअघि आठौं मिनेटमा सविता रानामगरले साम्बाको पासमा डिबक्सभित्रबाट गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन्।

अघिल्ला दुई खेलमा अनुपस्थित साम्बाले ११ मिनेटमा लोभलाग्दो गोल गरेकी थिइन्। डिबक्स बाहिरबाट हानेको उत्कृष्ट प्रहारले सिधा गोलपोस्टको दिशा लिएको थियो। दोस्रो हाफमा नेपालले थप दुई गोल गर्‍यो। अमिषा कार्कीले ४७ मिनेटमा नेपालका लागि पाँचौ गोल गरेकी थिइन्।

नेपालले दोस्रो हाफको इन्जुरी समयमा नेपालले छैटौं गोल गरेको थियो। नेपालका लागि रश्मीकुमारी घिसिङले सो गोल गरेका थिइन् भने नेपाललाई समूह विजेता बनाइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here