खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री गर्ने


२० आश्विन २०८१, आईतवार १७:२७ मा प्रकाशित

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु गरेको छ ।


नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा कम्पनीले आजबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु गरेको हो । गत वर्ष घटस्थापनादेखि नै विक्री शुरु गरेको भएपनि यस वर्ष विपद्जन्य घटनाका कारण समयमै खसीबोका र च्याङ्ग्रा नआइपुग्दा आजबाट मात्रै विक्री शुरु गरेको हो ।

खसीबोका १४ सय र च्याङ्ग्रा ३ सय खरिद गर्ने कार्यक्रमअनुसार कम्पनीसँग अहिलेसम्म ६८६ खसी, बोका र च्याङ्ग्रा प्राप्त गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी वागमती प्रदेश प्रमुख ज्ञानु थापाले बताउनु भयो । उहाँले च्याङ्ग्रा मुस्ताङबाट र खसीबोका नवलपुर, हेटौँडा र दाङबाट ल्याइएको बताउनु भयो । उहाँले अघिल्लो वर्ष ५४२ वटा च्याङ्ग्रा, १ हजार ६०२ खसीबोका विक्री गरेको जानकारी दिनुभयो ।

उहाँले गतवर्षको भन्दा यस वर्ष खसीबोकामा प्रतिकेजी १० रुपैयाँ सस्तोमा विक्री गरिएको बताउनु भयो । उहाँले यस वर्ष खसी बोकाको ६७० र च्याङ्ग्राका १२३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर विक्री गरिरहेको बताउनु भयो । 


उहाँले कम्पनीले स्वस्थ खसीबोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी स्वस्थ खसिबोकालाई हरियो रङ लगाएको बताउनु भयो । एक जनालाई एउटा भन्दा बढी उपलब्ध नगराइएको बताउनु भयो । मुख्य चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा विक्री गर्न हरेक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर विक्री गर्ने गर्छ । खाद्यसँगै अरु निजी व्यापारी र व्यवसायीले पनि खसीबोका खरिद गरी काठमाण्डौमा ल्याएर बिक्री गर्न थालिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here