सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्न कोषलाई अर्थमन्त्रीको निर्देशन


२५ भाद्र २०८१, मंगलवार १२:५२ मा प्रकाशित

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धीको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्ने निर्देशन दिनुभएको छ ।


मंगलवार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिनुभएको हो । अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्शानीको आधारमा नभइ उपलब्धीका आधारमा आकर्षित गर्नेगरी काम गर्न आग्रह गर्नुभयो ।

उहाँले कर्मचारी सञ्चय कोषको सबैभन्दा ठूलो आधार र भविष्य सञ्चयकर्ता भएको भन्दै कोषले सञ्चयकर्ताहरुको विश्वास टुट्न नदिने गरी विश्वासलाई बलियो बनाउँदै लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले कोषले सकेसम्म न्युन जनशक्तिबाट अधिकतम काम गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले दक्ष र क्षमतावान जनशक्तिलाई लिएर काम गर्न पनि निर्देशन दिनुभयो । उहाँले नेपालमा रोजगारीको पनि आवश्यकता भएपनि अन्य क्षेत्रले रोजगारीको क्षेत्रमा काम गरिरहेको भन्दै प्रविधिको प्रयोग हुने कर्मचारी सञ्चय कोष,बैंक तथा वित्तीय संस्था र अन्य निकायहरु सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले संस्थाहरुले जनशक्तिलाई सेवा सुविधा,मर्यादा,इज्जत दिँदै कर्मचारीले आफ्नो भविष्य देख्नेगरी ढोका खोलिदिनुपर्ने बताउनु भयो । उहाँले कोषमा ५ सय दरबन्दी धेरै भएपनि अहिले ३७१ जनाले काम गरिराखेको भन्दै थप जनशक्ति थप्न आवश्यक नदेखिएको उल्लेख गर्नुभयो ।  उहाँले नयाँ प्रविधिको प्रयोगले जनशक्ति व्यवस्थापन सहज हुँदै आएको बताउनु भयो । उहाँले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट पनि धेरै काम लिन सकिने भएकाले कोषले सोही बमोजिम काम गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here