टिकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भयोः रेशम चौधरी


३० जेष्ठ २०८१, बुधबार १६:३९ मा प्रकाशित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा नेपाल समाजवादी पार्टीको स्थापना दिवस सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍याउनु अपराध हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले टिकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताउनु भयो । उहाँले कसले घटना गरायो भन्नेकुरा लाल आयोगलाई सोध्न आग्रह गर्नुभयो । उहाँले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखको कुरा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिला टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त मिलाउनुपर्छ । हाम्रो के अपराध थियो । जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍यायो त्यो साढे ८ वर्ष जेल बस्नुपर्ने ? घाइतेलाई उठाएर उपभार गर्नेले आठ वर्षसम्म जेलको कालकोठीमा सड्नुपर्ने ? अब जाक्नेवालाको खोजिनीति गर्नुस् । घटना कसले गरायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौँ । टिकापुरको अब नाम भन्ने बेला आएको छ । साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भनिदिने ? महाधिवेशन नै नगर्ने पार्टीहरु वैध, पुसको कठ्याङ्ग्रिने जाडोमा जनताहरु आएर गरेको महाधिवेशन अवैध ?’

उहाँले अहिलेको शासन पद्धतिबाट आफूहरु आजित भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here