काठमाडौँ : सर्वोच्च अदालतमा पहिलोपटक अनलाइन मुद्दा दर्ता प्रणाली र पेसीको सूचना स्वचालित रूपमा पठाउने प्रणालीको शुरु भएको छ।
मंगलवार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अनलाइन रिट निवेदन दर्ता गर्ने प्रणालीको शुभारम्भ गरेका हुन्। शुभारम्भ कार्यक्रममा बोल्दै उनले नेपालमा पहिलोपटक अनलाइन रिट निवेदन दर्ता गर्ने प्रणाली शुभारम्भ भएको बताए। उनले न्यायालय, मुद्दाका पक्ष, कानून व्यवसायी लगायत सबैका लागि सहज हुने विश्वास व्यक्त गरे।
उनले छिटो छरितो न्याय सम्पादन हुने, अदालत आइरहनु नपर्ने र नेपालका जुनसुकै ठाउँबाट पनि दर्ता गर्नसक्ने कुरामा यसले सहज हुने बताए। उनले आजबाटै पेसी तारेखको जानकारी दिने प्रणाली पनि शुभारम्भ भएको पनि बताए।
उनले भने, ‘नेपालमा सायद पहिलो पटक नै होला अनलाइन रिट निवेदन दर्ता गर्ने प्रणाली शुभारम्भ गरेका छौँ। यसले हामी सबैलाई न्यायालय, मुद्दाका पक्षहरूलाई पनि सजिलो बनाइदिएको छ, कानून व्यवसायीलाई पनि सजिलो बनाइदिएको छ।
छिटो छरितो, यहाँ आइरहनु नपर्ने, खर्च पनि वचत गरिदिएको छ। आफ्नै क्षेत्रबाट दर्ता गर्नसक्ने स्थिति देखिएको छ। नेपालभरबाटै दर्ता गर्न सकिन्छ, अहिले पेसी तारेखको जानकारी दिने प्रणाली पनि आजबाट शुरुवात गरेका छौँ। पहिला कागजी चिठीपत्रमा गर्थ्यौँ। अदालतको काम कारबाहीमा कागजी कुराभन्दा प्रविधिमैत्री बनाएर लैजाने कुरामा हामी उन्मुख भएका छौँ।
प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिसँग जोडिन सबै कानूनव्यवसायीलाई आग्रह गरे। उनले पेसी तारेख दिने अनलाइन पद्धति सबै जिल्ला अदालतमा हुनुपर्ने बताए। उनले तारेख प्रणाली पनि अटोमेसम दिने कुरामा पनि जोड दिन आवश्यक रहेको बताए।






