काठमाडौँ । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् ।
नेपाली खेलकुदको लामो इतिहास बोकेको ब्याडमिन्टनले पहिलोपल्ट ओलम्पिक खेल्ने लागेको हो । जुनियर विश्व ब्याडमिन्टन वरीयताको पहिलो स्थान पुगेर इतिहास रचिसकेका प्रिन्सले फेरि अर्को इतिहास बनाएका छन् ।
ब्याडमिन्टन संघ २००८ सालमा स्थापना भएपछि नेपालमा संस्थागत रूपमा ब्याडमिन्टन खेलिन थालेको हो । तर, त्यो भन्दा धेरै अगाडिदेखि नेपालमा ब्याडमिन्टन खेलिने गरेको इतिहास भेटिन्छ ।
लामो इतिहासको सेरोफेरोमा पहिलो पटक यस खेलले ओलम्पिक खेल्ने सफलता पाउनु नेपालका लागि ठूलो उपलब्धि भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताए ।
फ्रान्सको पेरिसमा जुलाई २६ देखि अगस्ट ११ सम्म हुने ओलम्पिकका लागि ब्याडमिन्टनमा विश्वका १ सय ७२ खेलाडी छानिएका छन् । त्यसमा ४९ देशका खेलाडी परेका छन् । त्यसैमध्ये एकमा परेका हुन् प्रिन्स । पेरिस ओलम्पिकमा उनले मेन्स सिंगलमा प्रतिस्पर्धा गर्नेछन् ।






