अमेरिका पठाइदिने प्रलोभनमा करोड बढी रकम ठगी


२५ बैशाख २०८१, मंगलवार १८:०१ मा प्रकाशित

वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने प्रलोभनमा १ करोड १८ लाख ५९ हजार रुपैयाँ ठगी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगाका तेजराम चौधरी छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको झम्सिखेलमा नियन्त्रणमा लिएको हो ।

चौधरीले रामबहादुर रावलसहित ४ जनालाई भारत हुँदै ब्राजिल लग्ने र त्यहाँ केही समय काम गरेपछि अमेरिका लैजाने आश्वासन दिएर लाखौं रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।​​

पीडितहरूलाई ब्राजिलको वर्किङ भिसा लगाएर श्रम स्वीकृति निकाले फिलिपिन्स पुर्‍याएको दाबी गरिएको छ । तर फिलिपिन्सको अध्यागमनले नक्कली कागजात भनेर उनीहरूलाई फिर्ता पठाएको थियो । ​​​

पीडितमध्ये रावलबाट २८ लाख ५९ हजार, श्रीधर केसीबाट २७ लाख, टीका खड्काबाट २३ लाख र रामबहादुर वलीबाट ४७ लाख गरी १ करोड १८ लाख ५९ हजार ठगी गरेको बताइएको छ । पीडितहरूलाई दिल्ली हुँदै महिपालपुर होटलमा २ महिना राखिएको थियो ।

अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार नेपाल फर्किएर अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको हो ।

जाहेरीमा पीडितहरूलाई दिल्लीमा बन्धक बनाइएको उल्लेख छ ।

थप अनुसन्धान तथा कारबाहीको लागि चौधरीलाई वैदेशिक रोजगार विभागमा पठाएको जानकारी रेग्मीले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here