विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छः गृहमन्त्री लामिछाने


२१ बैशाख २०८१, शुक्रबार १६:०९ मा प्रकाशित

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद्मा परेका नागरिकहरुको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी रहेको बताउनुभएको हो । उहाँले सातै प्रदेशले एयर एम्बुलेन्सको अवधारणा बनाउनुपर्ने बताउनु भयो ।

उहाँले पैसाको अभाव देखाएर विपद् व्यवस्थापनको काम नगरिएको भन्दै ईच्छाशक्ति भएमा बजेट व्यवस्थापन हुनसक्ने धारणा राख्नुभयो । उहाँले विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको जोहो गर्नुपर्ने बताउनु भयो । उहाँले विपद्बाट नागरिकको जीवन बचाउने कुरालाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशभरका दमकलहरुलाई एकीकृत रुपमा सञ्चालन गर्नेगरी अभ्यास गरिरहेको पनि जानकारी दिनुभयो । त्यस्तै देशैभरी विभिन्न कार्यविधि र निर्देशन अनुरुप चलिरहेका एम्बुलेन्सहरुलाई एकीकृत प्रणालीमा ल्याएर सञ्चालन गर्नुपर्ने उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here