डढेलो बस्तीमा पस्दा पाल्पामा एकै दिन ४० घरगोठ जले


२० बैशाख २०८१, बिहीबार १३:०२ मा प्रकाशित

पाल्पामा जंगलमा लागेको डढेलो बस्तीमा पस्दा बुधबार राती  ४० बढी घरगोठ जलेर खरानी भएका छन्। पाल्पाको रामपुर नगरपालिका-४ र ५  पूर्वखोला गाउँपालिकाको वडा नं ६ हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ४० बढी घरगोठ जलेर खरानी भएका हुन्। 

आगलागीबाट करोडौंको धनमाल, अन्नपात जलेर नष्ट भएको छ।  पूर्वखोलाको हेक्लाङमा २५ घरगोठ जलेको छ भने सयौं गाई भैंसी, बंगुर बाख्रा कुखुरा आगोले जलेका वडा अध्यक्ष धनबहादुर घर्तीमगरले जानकारी दिए। 

साविकको हेकलाङको सबै वडामा एकैचोटी आगलागी भएकाे वडा अध्यक्ष घर्तीले बताए। आगालगीबाट मानवीय क्षति नभए पनि नगद, लत्ता कपडा, तथा खाद्यान्न जलेर करोडौंको नोक्सान भएको वडा अध्यक्ष घर्तीको भनाइ छ।

गाउँमा लिफ्टको खानेपानी विद्युतको भोल्टेज कम आउँदा पम्प गर्न नसकिएको कारण गाउँमा पानी नभएको उनले बताए। एउटा दमकल त आएको थियो तर एउटा दमकलले के गर्ने? अहिले पनि टयाक्टरमा पानी बोकेर घर गोठमा लागेको आगो निभाउने काम भइरहेको वडा अध्यक्ष घर्तीले बताए।

वडा नं ६ हेकलाङको लाकुरी, रेदी, बाँसडाँडा, खुमडाँडा, पनेर्दी, सालवास, पोखराथोक लगायतका जंगलमा भीषण डढेलो फैलिएको छ।

यस्तै पाल्पाकै रामपुर नगरपालिका-४ को तल्लो गिजनडाडा र वडा नं ५ को  गैरा गाउँबाट सुरु भएको आगो बस्तीमा पस्दा रेवती पोखरा, छतिनडाँडा, मौलाथर, जल्केनी, दरकोट बस्तीमा पुगी प्रन्ध घरगोठ जलेको वडा अध्यक्ष रामबहादुर रानाले बताए। 

बुधबार दिउँसोबाट लागेको आगो हावाहुरीको कारण बस्तीमा पसेकोले  निभाउन नसकिएको  वडा अध्यक्ष रानाले बताए। वडा नं ४ मा आगलागीबाट बुधबार दश घरगोठ जलेको उनले बताए।  हिजोदेखि लागेको आगो निभाउने काम भइरहेको वडा अध्यक्ष रामबहादुर रानाले बताए। 

रामपुरको वडा नं ५ को गैरागाउँमा आगलागीबाट ६ घरगोठ जलेको वडा अध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए। हिजोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा नआएकोले राम्चे सामुदायिक वनको माथिल्लो टापुमा आगो बलिरहेकोले नियन्त्रणको लागि स्थानीयवासी, उपभोक्ताहरु लागि गरेको वडा अध्यक्ष पोखरेलले बताए। 

पाल्पामा गत वर्षभन्दा आगलागीका घटना तीव्र रुपमा वृद्धि भएको छ। पाल्पामा चैत्र वैशाखमा मात्र १ सय ५० स्थानमा आगलगाी भएको छ भने  ३ हजार ५ सय हेक्टर वन जंगल डढेलोले जलेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here