प्रतिनिधि सभाको बैठक स्थगित, गृहमन्त्रीमाथि छानबिन समिति गठन हुनुपर्ने विपक्षीकाे अडान कायमै


२८ चैत्र २०८०, बुधबार १५:१२ मा प्रकाशित
सांसद खतिवडा काठमाडौँ, २८ चैतः सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा धारणा राख्दै नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडा । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाण्डाै । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को अवरोधपछि प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ ।

आकस्मिक समय सकिएलगत्तै विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए । सांसदहरूको अवरोधपछि सभामुख देवराज घिमिरेले संसद्को कार्यसूचीमा भएका सबै विषय हटाइएको जानकारी दिनुभयो । प्रतिनिधि सभाको अर्को बैठक वैशाख २ गते बस्नेछ ।

आजकाे बैठक शुरु हुनासाथ कांग्रेससहितका विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । सांसदहरूको विरोधपछि सभामुख घिमिरेले सांसदहरूलाई आकस्मिक समय उपलब्ध गराउनुभयो । आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेले सहकारीको रकम हिनामिना प्रकरणकाे छानबिन रोकेको आरोप लगाउनुभयो । गएको माघमा पीडितले उजुरी दिएपछि पोखराको सूर्यदर्शन सहकारीबारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पोखरा गएर छानबिन शुरु गरेको भए पनि लामिछाने गृहमन्त्री भएपछि रोकिएको खतिवडाको दाबी छ ।

यस्तै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सहकारी समस्याबारे सरकारले छानबिन नगरेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेको बताउनुभयो । सत्तारूढ दलका सांसदले पनि सहकारीको छानबिन गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन् ।

नेकपा एमालेका सांसद सूर्य थापाले देशभरका सबै सहकारी पीडितको बचत सुरक्षित हुनुपर्ने हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीको विषयमा गृहमन्त्री लामिछानेमाथि प्रहार गर्नु भने उचित नभएको बताउनुभयो । त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सहकारी पीडितले न्याय पाउनुपर्ने तर संसद्लाई अवरुद्ध गर्न नहुने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सहकारी समस्याबारे छानबिन हुनुपर्ने तर व्यक्ति विशेषमा केन्द्रित भएर विरोध गर्न नहुने बताउनुभयो ।

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरेअनुसारको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति नै बनाउन माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here