नेपाली कांग्रेसका महानमन्त्री गगनकुमार थापाले २०४६ सालको राजनीतिक परिवर्तनपछि राजनीतिक र प्रशासनिक नेतृत्व सम्हालेका व्यक्तिको सम्पत्ति छानबिनको प्रस्ताव गरेका छन् । उनले वर्तमानदेखि पूर्वप्रधानमन्त्री सम्मको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।
पशुपति मित्र मावि चाबहिलको हीरक महोत्सवलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले जतिसुकै शक्तिशाली भए पनि अपराध गर्नेले कारबाही भोगेमा राज्यप्रति भरोसा बढ्ने बताएका हुन् ।
२०४६ सालपछि नेपालको राजनीतिक, प्रशासनिक नेतृत्व जो–जोले जिम्मा लियौं जवाफदेही हुनुपर्छ । राजनीतिक नेतृत्व कांग्रेसका सभापतिको, एमाले अध्यक्षको अहिलेका प्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्री र हामी मन्त्री बनेका सबैको सम्पत्ति छानबिन गरौं’ थापाले भने, ‘सोसंगै ठूला प्रकरणको पनि छानबिन गरौं । जिम्मेवार भएका मानिसलाई दण्ड पाउनु पर्छ भन्ने स्थापित गरौं ।
सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको कुरा उठेपछि रास्वपाले सम्पत्ति छानबिनको माग गरिरहेको छ ।
महामन्त्री थापाले सहकारी ठगी सम्बन्धमा राज्यका निकायले अनुसन्धान नगरेकोले संसदीय छानबिन जरुरी रहेको बताए । ‘सहकारीको प्रकरणमा अर्बौं ठगी भएको छ । अस्तिसम्म सहकारी विज्ञ भनेर भाषण गर्दै हिड्ने केपी उप्रेती ८ अर्ब खाएर हिड्छ ।
खाएर भागेको निकायलाई हेर्न राज्यका निकाय छ, तर, कसैले हेर्दैनन्’ थापाले भने, ‘जतिसुकै शक्तिशाली होस्, कांग्रेस, माओवादी एमाले, नयाँ पुरानो पूर्वप्रधानमन्त्री या भावी प्रधानमन्त्री जतिसुकै शक्तिशाली भए पनि अपराध गर्नेले सजाय पाउँछ भन्ने भयो भने समाज अगाडि बढ्छ ।